नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घोषणा गरेका छन्।
उनले पत्रकार सम्मेलन गरेर यसपालि आफू पार्टी केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताए।
‘म पहिले पनि पार्टी राजनीतिमा होमिइसकेको थिएँ। विशिष्ट परिस्थितिमा नेविसंघ अध्यक्ष हुन आउनुपर्यो,’ उनले भने, ‘यसपालि म केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु।’
उनले नेविसंघका आफूसहित धेरै नेता पार्टी राजनीतितर्फ गएकोले नेविसंघमा राजीनामा दिनेबारे सामूहिक छलफलबाट निर्णय गर्ने पनि बताएका छन्।
ढुंगाना सभापति शेरबहादुर देउवानिकट छन्। उनले पार्टीमा अब युवाहरू आउनुपर्ने पनि बताए।
‘नयाँ ढंगले कांग्रेसलाई अगाडि बढाउन जरूरी छ,’ उनले भने, ‘कांग्रेसलाई आशावादी नजरले जनताले हेरेका छन्। कांग्रेस रूपान्तरण हुँदै अघि जानुपर्छ। युवाहरू केन्द्रीय समितिमा आउने वातावरण अब सिर्जना हुनुपर्छ।’
उनले कांग्रेसलाई रूपान्तरण गरी १०/१२ लाख मतदाता आकर्षित गर्नुपर्ने पनि बताए। त्यसका लागि युवालाई पार्टीमा उचित भूमिका दिनुपर्नेमा उनी छन्। राष्ट्रियता र जनजिविकाका पक्षमा कांग्रेस खरो ढंगले उत्रनुपर्ने पनि उनले बताए।