नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ।
उक्त महाधिवेशनमा को-को उम्मेदवार हुने भन्नेबारे अहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल गरिरहेका छन्।
पौडेल पक्षलाई सभापतिकै उम्मेदवार छान्न सकस परिरहेको छ भने देउवा पक्षमा पदाधिकारीका आकांक्षी धेरै छन्।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि कांग्रेस महामन्त्रीमा आफ्नो दाबी पेस गरेका छन्।
‘साथीहरूले मलाई तपाईं महामन्त्रीमा उठ्नुपर्छ, हामी साथ दिन्छौं भनेका छन्। म पनि आफूलाई महामन्त्रीको स्वभाविक दाबेदार ठान्छु,’ मन्त्री कार्कीले सेतोपाटीसँग भने।
लामो समय पार्टीमा गरेको काम र अनुभवले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक हुने उनको भनाइ छ।
२०७४ को आम निर्वाचनमा कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। कार्की पञ्चायत कालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष थिए।
केपी शर्मा ओली सरकार हटेर कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनेपछि उनी सुरूमै मन्त्री भएका थिए। गत असारमा कार्की मन्त्री बनेपछि कतिपयले त्यतिबेला देउवाले उनलाई मन्त्री बनाएर व्यवस्थापन गरेको अनुमान गरेका थिए।
कार्कीले भने सरकारभन्दा पार्टीको जिम्मेवारी आफ्नो प्राथमिकतामा पर्ने बताएका छन्।
‘सरकारको मन्त्री र पार्टीको महामन्त्रीमा मेरो प्राथमिकता पार्टीको जिम्मेवारीमै हुन्छ,’ कार्कीले भने।
उनले उम्मेदवारी घोषणा गर्नेबारे साथीहरूसँग आफूले छलफल गरिरहेको बताए।
कांग्रेस महामन्त्रीमा देउवा पक्षबाट सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, एनपी साउद र रमेश लेखक आकांक्षी छन्। तीमध्ये प्रवक्ता शर्माले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने अरू नेताहरू छलफलमा छन्।