नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत उम्मेदवार छान्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको छलफल सुरू भएको छ।
प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भइरहेको छलफलमा सभापतिका आंकाक्षीहरू पौडेल, शेखर कोइराला र शशांक कोइराला र केही केन्द्रीय सदस्यहरू सहभागी छन्।
यसअघि बत्तीसपुतलीमा भएको पौडल पक्षको बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको बताएका थिए।
पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंहमात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।
शेखर र प्रकाशमानमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन पनि उक्त समूहलाई कठिन छ।
बत्तीसपुतली छलफलमा सहभागी नेता/कार्यकर्ताले मतदान गर्दा झन् समूहहरू बन्ने भएकाले नेताहरूले छलफल गरेर उम्मेदवार टुंग्याउनु पर्ने सुझाव दिएका थिए।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षबाट उनी नै यसपालि सभापति उठ्दैछन् भने उनीसँग असन्तुष्ट भएर गएका विमलेन्द्र निधिले पनि सभापति उठ्ने घोषणा गरिसकेका छन्। पौडेल पक्षमा भने चार जना सभापतिका आकांक्षी रहेकाले को उम्मेदवार बन्छ भन्ने यकिन छैन।