नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आफू पराजित भए पनि कर्णालीमा कांग्रेसलाई बलियो बनाउने अठोट कायमै राखेको बताएका छन्।
नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा निर्वाचित भएका आफ्ना प्रतिद्वन्द्वी ललितजंग शाही लगायतका पदाधिकारी तथा सदस्यहरूलाई बधाइ दिँदै उनले आफ्नो सपना सभापति बन्ने मात्र नभई कांग्रेसलाई सुदृढ गराउने भएकाले आफ्नो अठोट कायम रहने बताएका छन्।
‘नेपाली कांग्रेसको संघीय संरचना पछिको प्रथम प्रदेश अधिवेशन सकिएको छ, एक जीवन्त पार्टीमा नेतृत्व छनोट गर्नका लागि लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचन प्रक्रियामा जानु विधि सम्वत् हो,’ उनले भनेका छन्, ‘मैले सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापतिका लागि निर्वाचनमा भाग लिएको थिएँ, यो प्रक्रियामा मेरो पराजयलाई पनि स्वभाविक रूपमा लिएको छु।’
गुट बलियो नभई सिंगो कांग्रेसलाई बलियो बनाउने आफ्नो चाहना भएको उनले बताए।
पराजित हुँदा आफूले सभापति पद नपाए पनि कर्णालीमा कांग्रेसलाई बलिाये बनाउने सपना नगुमाएको उनले बताए।
नेपाली कांग्रेसलाई कर्णालीमा एक ढिक्का भएर अगाडि बढाउन निर्वाचित कार्यसमितिसँगै आफ्नो पनि सक्रियता रहने प्रतिबद्धता उनले जनाएका छन्।