१४ औं महाधिवेशनमा आफ्नो समूहबाट एक जनामात्रै सभापतिका उम्मेदवार बनाउन छलफलमा जुटेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बत्तीसपुतलीमा भएको छलफल सकिएको छ।
उक्त छलफलमा पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति सहभागी थिए।
बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको बताएका थिए।
पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंहमात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।
शेखर र प्रकाशमानमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन पनि उक्त समूहलाई कठिन छ।
बत्तीसपुतली छलफलमा सहभागी नेता/कार्यकर्ताले मतदान गर्दा झन् समूहहरू बन्ने भएकाले नेताहरूले छलफल गरेर उम्मेदवार टुंग्याउनु पर्ने सुझाव दिएका छन्।
केन्द्रीय सदस्य जीवन परियारका अनुसार सोही सुझावअनुसार दिउँसो तीन बजे प्रकाशमान सिंहको चाक्सीबारी निवासमा पौडेल समूहका केन्द्रीय सदस्य र सभापतिका आकांक्षीहरूबीच छलफल हुँदैछ। सहमतिका लागि सभापतिको दाबी छोड्न तयार पौडेल र कोइराला पनि उक्त छलफलमा सहभागी हुने छन्।