आगामो शुक्रबारदेखि काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ।
यसैबीच लुम्बिनी प्रदेशमा सक्रिय राजनीति गरेका मात्रै होईन राजधानीमा बसेर फोनबाट जिल्लाको कांग्रेस चलाउनेलेसमेत पदाधिकारी एवं केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन्।
वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्लाहुँदै प्रदेश अधिवेशनसमेत सम्पन्न भएको लुम्बिनी प्रदेशमा प्रदेशका १२ जिल्लाका नेताहरू केन्द्रीय समितिमा उम्मेदवारीको टिकटका लागि लविङमा छन्।
पालिका, जिल्ला र प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अलग अलग समूह बनाएर लडेका नेताहरू सोही अनुरूप केन्द्रीय समितिमा पनि आ-आफ्नो समूहमा दाबी गरिरहेका छन्।
लुम्बिनी प्रदेशमा देउवा समूहभन्दा पौडेल समूह बलियो देखिएपछि पौडेल समूहका आकांक्षीको संख्या बढी छ। प्रदेश सभापतिमा पौडेल पक्षका अमर बहादुर पुनमगर विजयी भएका छन्।
कांग्रेस महामन्त्रीमा रूपन्देहीका सांसद एवं गृहमन्त्री बालकृष्ण खाँणको नाम चर्चामा छ। देउवाका विश्वास पात्र मानिने खाँण महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहँदा प्रदेशमा सभापति जिताउन नसकेको आरोप लगाएर देउवा निकटस्थ उठ्न नदिने पक्षमा छन्। संस्थापन समूहका बलिया दावेदार मानिने खाँण यो प्रदेशबाट महामन्त्रीमा एक्ला दावेदार हुन्।
उपसभापतिमा गुल्मीका चन्द्र भण्डारीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। दोस्रो संविधान सभाको निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीलाई हराएर चर्चामा आएका भण्डारी २०७४ सालमा भएको आम निर्वाचनमा भने ज्ञवालीसँग २ हजार ७ सय मतान्तरले पराजित भएका थिए।
भण्डारीले सिनियर नेतालाई अघि सारेर आफू उपसभापतीमा उम्मेदवारी दिन लागेको बताएका छन्। उनले नेपाली कांग्रेसलाई कांग्रेस जस्तो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। ‘म सभापतिको दावेदार हुँ, तर कांग्रेसमा मभन्दा सिनियर नेताहरू हुनुहुन्छ त्यसैले यसपटक उपसभापतीमा उम्मेदवारी दिने सोँचमा छु,’ भण्डारीले सेतोपाटीसँग भने।
त्यस्तै सह-महामन्त्रीमा पश्चिम नवलपरासीका देवेन्द्रराज कँडेलले आकांक्षा देखाएका छन्। जिल्ला कांग्रेस भित्रै विवाद र गुट उपगुट बनाएर चलाईरहने पूर्व गृहराज्यमन्त्री समेत रहेका कँडेल देउवा पक्षका हुन्। उनी स्व. खुमबहादुर खड्का समूहमा लामो समय रहेका थिए ।
यता पौडेल समूहबाट दाङका दिपक गिरीले पनि सह-महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा अत्यधिक मत ल्याएर निर्वाचित भएका गिरी पौडेल पक्षबाट सह-महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्।
त्यसैगरी कांग्रेसको केन्द्रिय सदस्यमा रुपन्देहीबाट देउवाका विश्वासपात्र समेत रहेका कांग्रेस निवर्तमान सभापति अव्दुल रज्जाकले उम्मेदवारी दिने तयारी गरेका छन्। अब्दुल रज्जाक र संविधान सभा सदस्य मोहम्मद ईश्तियाक अहमद खाँनले मुस्लिम कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै रूपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य प्रमोद यादव, महिला नेतृ रिता सेन र जमुना ढकालको नाम चर्चामा छ। सेन र यादव पौडेल पक्षका हुन् भने ढकाल संस्थापन पक्षकी हुन्।
ढकाल विद्यार्थी राजनितीबाट आएकी हुन् भने सेन सहिद परिवारकी हुन्। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रहेका सेनका पति तत्कालीन माओवादीको बम आक्रमणमा परि रूपन्देहीको मणिग्राममा मारिएका थिए।
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसमेत रहेका पाल्पाका वीरबहादुर रानाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
रानाले आदिवासी जनजातीको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए। पाल्पामा दुई पटक सभापति भइसकेका रानाले राजनीतिमा भएको वितृष्णालाई हटाउँदै राजनीतिप्रति जागरूक बनाउन आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको बताए।
योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओसमेत भइसकेका प्युठानका प्रा.डा. गोविन्द पोखरेल केन्द्रीय सदस्य हुन चाहेका छन्। पोखरेल कांग्रेसको १३ औं महाधिवेशनमा सदस्यमा पराजित भएका थिए।
लुम्बिनी प्रदेश सरकारमा पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री दाङका डिल्ली चौधरीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनी सभापति देउवाका निकटस्थ हुन्।
बर्दियामा देउवा समूहबाट किशोरसिंह राठोर र पौडेल समूहबाट सञ्जय गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा छ। राठौर २ पटकसम्म केन्द्रीय सदस्य बनिसकेका छन्।
त्यस्तै बाँकेका किरण कोईराला र सुरेन्द्र हमाल केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । कोईराला पौडेल पक्षका हुन् भने हमाल देउवा पक्षका हुन्।
स्व. सुशील कोईरालाकी भाई बुहारीसमेत रहेकी किरण हाल जिल्ला सभापति हुन्। हमाल लुम्बिनी प्रदेश सरकारमा बन, बातावरण तथा भु संरक्षण मन्त्री हुन्।
अर्घाखाँचीबाट केन्द्रीय सदस्यका आकांक्षीको संख्या सबैभन्दा धेरै छ। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, महिला नेतृ पुष्पा भुसाल, डा. रामबहादुर वि.सी, मान बहादुर वि.क., मुक्ती श्रेष्ठ, रेवती भुसाललगायत अर्घाखाँचीबाट आकांक्षी छन्।
वि.सी, पुष्पा भुसाल, वि.क. देउवा पक्षका हुन् भने कमल भुसाल, मुक्ती श्रेष्ठ, रेवती भुसाल पौडेल पक्षका हुन्।
गुल्मीबाट केन्द्रीय सदस्यमा देउवा पक्षबाट चन्द्र केसीको नाम चर्चामा छ भने पौडेल पक्षबाट त्रिलोकप्रताप सेनको नाम चर्चामा छ।
कपिलबस्तुका वीरेन्द्र कनौडिया, अक्तर कलाम देउवा समूहबाट केन्द्रीय सदस्यका आकांक्षी हुन्। रोल्पाबाट पौडेल पक्षका मनोजमणि आचार्यको नाम पनि चर्चामा छ।