अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कारको विजेता घोषणा गरेको छ।
यो वर्षको पुरष्कार डा. निजोदी नेदेयुन्येमालाई नामिबियाको संबिधानमा भएको पानी सम्बन्धी अधिकारको व्याख्या भन्ने विषयमा केन्द्रित उनको विद्यावारिधिको शोधग्रन्थका लागि प्रदान गरिएको छ।
डा निजोदी नेदेयुन्येमाको उक्त शोधग्रन्थ यो वर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनोट भएको थियो।
अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि गरेका प्राध्यापक सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो र सन् २०२० मा प्राध्यापक सुवेदीको नाममा उक्त वार्षिक पुरष्कार स्थापना गरेको थियो।
प्राध्यापक सुवेदी वेलायतको लीड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक र वेलायतका ब्यारिष्टर र क्युसी हुन्।
उनलाई अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीको ख्याती तथा गौरव बढाउन उल्लेख्य योगदान पुर्याएको र स्वयं पनि ख्याती प्राप्त गरेको व्यक्ति भन्दै सन् २०२१ मा नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञसभाले मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो।