नेपाली कांग्रेसका नेता मदन बहादुर अमात्यले लोकतन्त्रलाई बलियो बनाउँदै मुलुकको आर्थिक समुन्नतिका लागि योजनाबद्ध तरीकाले काम गर्ने बताएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुल्ला) पदमा उम्मेदवारी दिँदै अमात्यले यस्तो बताएका हुन्।
ललितपुर जिल्लाका निवर्तमान सभापति अमात्यले पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसलाई समृद्ध पार्टी बनाउन आफूले पार्टीको सदस्य पदमा उम्मेदवारी दिएको स्पष्ट पारे।
मुलुकमा मौलाएको बेथितिलाई व्यवस्थित गर्न र भ्रष्टाचार नियन्त्रणका लागि आफूले पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्ने बताए।
अमात्य ललितपुर पार्टी सभापति हुँदा स्थानीय तहमा कांग्रेसका प्रमुख उपप्रमुख विजयी भएका थिए। उनले केन्द्रीय समितिमा रहेर देशलाई कांग्रेसमय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
आफ्नो सम्पूर्ण शक्ति र समय संगठनलाई अझै चुस्त बनाउन अपर्ण गर्ने बताएका अमात्य सन्तनेता कृष्णप्रसाद भट्टराई( किसुनजी) का चेला हुन्।
२० वर्षको उमेरमा राजनीतिमा लागेका अमात्य ललितपुरको गाबहालमा जन्मिएका हुन्। बाबु र बाजे हेटौंडाको भिमफेदीमा भएकाले उनको बाल्यकालको केही वर्ष भिमफेदीमा पनि हुर्किए।
संविधानसभा सदस्यसमेत रहेका उनले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई विवेकशील संगठन बनाउन आवश्यक भएको बताए।
युवा देशको मेरुदण्ड भएको बताउँदै उनीहरुको सोच, योजनालाई देश विकासमा लगाउनुपर्ने धारणा व्यक्त गरे। अपागंता भएका, महिला, दलित, जनजाति र पछि पारिएका वर्गको हकअधिकार स्थापित गर्न अनवरत रुपमा लाग्ने बताए।
निष्ठावान र स्वाभिमानी नेताको परिचय बनाएका कांग्रेस नेता अमात्यले पार्टी अहिले संकटपूर्ण अवस्थामा रहेकाले त्यसलाई हल गर्नका लागि पार्टीलाई बलियो बनाउनुपर्ने उनले बताए।