नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रदेश नम्बर १ को पार्टी अधिवेशनमा खसेको मत फेरि एकपटक गणना गर्न आफूले निवेदन दिए पनि केन्द्रीय निर्वाचन समितिले गणनाका लागि आदेश नदिएको बताएका छन्।
घिमिरे प्रदेश १ को सभापति पदमा उम्मेदवार थिए। उनी दुई मतअन्तरले अर्का उम्मेदवार उद्धव थापासँग पराजित भएका थिए।
पुन: मतगणनापछि आफूले हारेको देखिए मतपरिणाम स्वीकार गर्ने पनि उनले बताएका छन्।
‘मैले पुन: मतगणना गर्न निवेदन दिएको थिएँ। त्यहाँबाट केन्द्रमा त्यो निवेदन पठाइएको भन्ने छ। तर केन्द्रीय निर्वाचन समितिले अझै फेरि मतगणना गर्न निर्वाचन समितिलाई आदेश दिएको छैन,’ घिमिरेले भने।
उनले प्रदेश अधिवेशनमा सत्ताको हस्तक्षेप भएको पनि आरोप लगाएका थिए। ‘मैले जितेको थिएँ भने पनि गलत भएको कुरा बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘पार्टी अधिवेशनमा सत्ताको दुरूपयोग हुनु राम्रो होइन।’
अधिवेशनमा ५२ जनाले मतदान नै नगरेको उनले बताए। ‘मेरो आँखाअगाडि नै मत लुटिएका छन् म के गरौं,’ उनले दाबी गरे। मत हाल्दा केन्द्रीय निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रचार गरेकोले पनि केही नेताले मतदान नगरेको उनले बताए।