नेपाली कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सभापति पदको उम्मेदवार छान्न बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
पौडेल समूहका अनुसार सभापतिको उम्मेदवार छान्न बुधबार बिहान ९ बजे पुन: बत्तीसपुतलीमा बैठक डाकिएको छ।
महाधिवेशनको मुखमा आइपुग्दा सभापतिका आकांक्षी धेरै भएपछि पौडेल समूहले मंगलबार बैठक डाकेको थियो।
बैठकमा ठोस निष्कर्ष ननिस्किएपछि बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक डाकिएको स्रोतले बतायो।
बैठकमा उक्त समूहले आफूनिकट निवर्तमान जिल्ला सभापति, जिल्ला सभापति, काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधिलगायतसँग छलफल गर्ने बताइएको छ।
मंगलबार सभापतिका आकांक्षीहरू र केन्द्रीय सदस्यबीच भएको छलफलले निर्णय निकाल्न नसकेको स्रोतले बतायो।
बैठकमा सहभागीले सकेसम्म छिटो सर्वसम्मत सभापतिको उम्मेदवार छान्नेबारे छलफल केन्द्रित रहेको बताए।
कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुन: आफ्नो उम्मेदवारी दोहोर्याउने भएका छन्।
संस्थापनइतर समूहबाट पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।
१४ औं महाधिवेशन मंसिर २४ गते उद्घाटन हुँदैछ। त्यसको भोलिपल्ट उम्मेदवारी दर्ताको तालिका छ।