नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तल्लो तहका अधिवेशन लगभग सकिएका छन्।
वडादेखि प्रदेशसम्मका अधिवेशन सकिँदा नेपाली कांग्रेसको राजनीतिमा युवा वर्गले महत्वूर्ण पदमा पुग्ने अवसर पाएका छन्।
वडा सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिलगायतका पदमा केही युवा चुनिएका छन्।
यस्तै महत्वपूर्ण पद पाएका युवामध्येकी एक हुन्– मनसरा कुमारी शर्मा।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–९ की मनसरा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्। उनी दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
२०५२ सालमा जन्मिएकी शर्माको राजनीति २०७० सालबाट सुरू हुन्छ। अहिले उनी २६ वर्षकी भईन्।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीति सुरू गरेकी उनी २०७० मा दैलेखको जम्बुकाँधस्थित जयदेव माध्यमिक विद्यालयमा विद्यार्थी संघको कोषाध्यक्ष थिईन्। २०७० मै नेपाल विद्यार्थी संघको क्षेत्रीय सदस्यको उनी दावेदार थिईन्। तर त्यतिवेला अधिवेशन स्थगित भयो।
त्यसपछि उनी नेपाल महिला संघको चामुण्डा विन्द्रासैनी नगरपालिकाको सभापति भएर काम गरिन्।
उनी राजनीतिमा आउनुको मुख्य कारण भनेकै आफ्नो बुवाको प्रेरणा हो। उनका बुवा पूर्णप्रसाद जैसी २०३६ सालदेखि निरन्तर राजनीतिमा छन्। २०४९ सालको आम निर्वाचनमा निर्विरोध वडा अध्यक्ष बनेका जैसी २०५४ सालमा गाउँ विकास समितिको उपाध्यक्षमा पराजित भएका थिए।
‘जन्मजात नै म कांग्रेस हो,’ शर्मा भन्छिन्, ‘राजनीतिक संस्कारमै हुर्किएको भएर मलाई राजनीतिमा आउन पारिवारिक संस्कार नै काफी थियो।’
नेपाली जनतालाई रैतीबाट आम नागरिकको रुपमा स्थापित गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनी ठान्छिन्।
‘कांग्रेसको इतिहास हेर्दा २००७ सालपछि प्रजातन्त्रिक व्यवस्था स्थापना भयो, यसमा कांग्रेसको प्रमुख भूमिका छ,’ उनले भनिन्, ‘जनआन्दोलन, बहुदल, वर्षौंसम्मको संकटकाल जस्ता समयमा नेपाली कांग्रेसले धेरै राम्रो भूमिका निर्वाह गरेको छ।’
२०६२/६३ को जनआन्दोलनका क्रममा गिरीजाप्रसाद कोईरालाले तत्कालीन सशस्त्र द्वन्द्वमा विद्रोही मानिएको माओवादीलाई शान्ति सम्झौतामा ल्याउन खेलेको भूमिकालाई कांग्रेसले गरेको महत्वपूर्ण काम मध्ये एक उपलब्धिका रूपमा आफूले हेरेको उनले बताइन्।
२०७२ सालमा नेपालको संविधान जारी गर्न सुशील कोईरालाले खेलेको भूमिकालाई पनि उनले उपलब्धि ठान्छिन्।
उनलाई नेपाली कांग्रेसमा कोईराला परिवारको योगदान र भूमिका राम्रो लाग्छ।
विपीको सिद्धान्तले कांग्रेसलाई मजबुत बनाएको शर्माको बुझाइ छ।
उनको विचारमा समाजका नराम्रा कार्यलाई राम्रोमा बदल्न विचार, नीति र सिद्धान्तको आधारमा नेतृत्वदायी भूमिका खेल्नु नै राजनीति हो।
‘हरेक कुरामा नेतृत्व आवश्यक हुन्छ, राजनीतिले असल मान्छेलाई नेतृत्वमा पुर्याउनुपर्छ भन्ने लाग्छ। ती मान्छेले समाज बदल्न सक्छन्,’ उनले भनिन्।
नेपाली कांग्रेसले बोकेको एजेण्डाहरू सबै समाज रूपान्तरण र कुदृष्टि अन्त्यका लागि आवश्यक भएको शर्माले बताईन्।
उनले राजनीतिमा आफ्नो भविष्य पनि सुनौलो देखेकी छिन्। आफूले संघर्षमा विश्वास गर्ने भएकाले संघर्षले नै आफूलाई राजनीतिमा सुनौलो भविष्य प्रदान गर्ने अपेक्षा उनको छ।
‘राजनीतिमा मेरो भविष्य राम्रो छ, मलाई राजनीतिमा व्यक्तिगत लाभ लिनु केही छैन,’ शर्माले भनिन्, ‘कुनै पनि क्षेत्रमा जति संघर्ष गर्यो त्यति राम्रो हुने हो, मैले समाजलाई जति राम्रो काम गर्न सक्यो त्यो नै मेरा लागि लाभ हुनेछ र भविष्य पनि अपेक्षा अनुसार हुनेछ।’
पछिल्लो महाधिवेशनबाट युवाले नेतृत्व पाउँदा उनलाई खुसी पनि लागेको छ। अबको प्रमुख नेतृत्व पनि नेपाली कांग्रेसलाई बलियो बनाउने खालको व्यक्तिले पाउनुपर्ने शर्मा बताउँछिन्।
‘मेरो व्यक्तिगत ईच्छा भनेको शेखर कोईरालाले नेतृत्व पाउनुपर्छ भन्ने हो, तर उहाँ नै नभए पनि जसले पार्टीलाई सही बाटोमा लगातार हिँडाउन सक्नुहुन्छ त्यस्तो व्यक्तिलाई नेतृत्व गर्ने अवसर दिनु आवश्यक छ,’ उनले भनिन्, 'मैले छान्दा पनि देश र पार्टीलाई सहीबाटोमा हिँडाउन सक्ने नेता छान्छु।'