दाङका २८ वर्षीय अनुराग खड्काले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन्।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन्। जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जित्ने खड्का सबैभन्दा कान्छो उमेरका ब्यक्ति हुन्।
उनकी आमा शिला गौतम खड्का पनि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। यसअघि खड्का आफ्नो वडाबाट सर्वसम्मत वडा क्षेत्रीय प्रतिनिधिमा चयन भएका थिए।
लमही नगरपालिका ८ बनघुस्रीका खड्का जिल्लाकै सबैभन्दा कान्छा उमेरका केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
खड्कासँगै रूकुम पश्चिमका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
उनले दलित कोटाबाट उम्मेदवारी दिने जानकारी दिएका छन्। १३ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा झिनो मत अन्तरले पराजित भएका थिए।
उनी कांग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला पार्टी सभापति हुन्। उनी २०६७ सालदेखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति भएका थिए ।
राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका नेता नेपालीले माओवादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन अनबरत रुपमा लागि परेको दाबी गरे ।
‘अहिलेसम्म रूकुमबाट कांग्रेसको कोही पनि भएको छैन,’ उनले भने ‘समग्र कर्णाली प्रदेशको दलितको नेतृत्व गर्दै म उम्मेदवारी दिन चाहान्छु।’
उनले संस्थापन पक्षबाट उम्मेदवारी दिने जानकारी दिए।
यस्तै नेपाली कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी खड्का पूर्व शिक्षक पनि हुन्। खड्का काँग्रेस राजनीतिमा लागेकै कारण २०३० को दशकमा दुई बर्ष जेल परेका थिए ।
केन्द्रीय महाधिबेशन प्रतिनिधि खड्का पार्टी भित्र सादकी जीवन सैलीका नेताका रुपमा परिचित छन् ।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।