नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीसम्बन्धी उपसमितिका संयोजकसँग ब्रिफिङ लिएका छन्।
सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरूले अहिलेसम्म भएका तयारी तथा प्रगतिबारे सभापति देउवालाई जानकारी गराएका हुन्।
आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिले आफ्नो तयारीसम्बन्धी प्रगति सुनाएका थिए।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए।
महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए।
प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए।
आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ।