नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिक अनुभवका हिसाबले शुक्रराज शर्माभन्दा अर्जुन जोशी कम छैनन्।
जोशी २०४८ सालदेखि २०६४ सम्म कांग्रेस पर्वतको लगातार सभापति बने।
१२ औं महाधिवेशनमा तत्कालिन धौलागिरीबाट केन्द्रीय सदस्य बनेका जोशी १३ औं महाधिवेशनमा हारे। हारेपनि सभापति शेरबहादुर देउवाले मनोनित गरेर उनलाई केन्द्रीय सदस्य बनाए।
संसदीय निर्वाचनमा पनि लगातार ३ पटक जितेको अनुभव छ, जोशीसँग। २०५६ को संसदीय निर्वाचन, पहिलो संविधान सभा र दोस्रो संविधान सभा निर्वाचनमा जोशीले चुनाव जिते। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी एमाले उम्मेदवार पदम गिरीसँग पराजित भए। त्यो बेला वाम गठबन्धन बनेकाले आफू हार्न पुगेको जोशीले बताउने गरेका छन्।
उनै जोशीलाई अहिले गण्डकी प्रदेशको कांग्रेस सभापतिमा शुक्रराज शर्माले हराएका छन्। शर्मा पनि तीन पटक संसदीय निर्वाचन लडे। तर कहिल्यै जितेनन्।
२०४८ र २०५१ को संसदीय निर्वाचनमा पराजित भएपछि शर्मा २०५८ मा उम्मेदवार उठेनन्। तर त्यहीँ बेला कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसले चुनाव जित्यो। त्यतिबेला पनि उनी कास्की कांग्रेसका सभापति थिए। त्यसपछि २०७४ सालको प्रतिनिधि सभामा कास्की– ३ बाट चुनाव लडेका शर्मा पराजित हुन पुगे।
कास्की कांग्रेसमा २०४६ सालदेखि निरन्तर १७ वर्ष सभापति रहेका शर्मा यसअघि कांग्रेसले पोखरामा आयोजना गरेको महाधिवेशनमा केन्द्रीय सदस्य लडेका थिए। तर जित्न सकेनन्। लगातार तीन कार्यकाल सभापति भएर २०६१ मा नेता यज्ञबहादुर थापालाई सर्वसम्मत जिल्ला सभापति बनाए। फेरि १३ औं महाधिवेशनमा आफैं सभापति उठेका शर्मा सभापतिकै अर्का उम्मेदवार कृष्ण केसीसँग पराजित भए।
कास्की कांग्रेसको सभापति चलाउँदा शर्मालाई कसैले नकार्न सक्दैनथे। कार्यकर्ताबाट 'कास्की कांग्रेसको पर्याय', 'सतिसाल शुक्रराज' जस्ता उपमा उनले पाउने गरेका छन्। कास्कीमा कांग्रेसको संगठन निर्माणमा उनले बगाएको पसिनाकै कारण उनी जिल्लाको आन्तरिक राजनीतिमा सबैभन्दा शक्तिशाली देखिएका हुन्। केन्द्रका नेतासँग सिधा कुरा गर्नसक्ने खुबी भएर मात्र होइन, जिल्लाका कार्यकर्तामा उनको पकड र राजनीतिक चतुरताले पनि उनलाई जिल्लाको शक्तिकेन्द्र मानेको हो।
शर्माको राजनीतिक चतुरता गएको क्षेत्रीय अधिवेशनमा पनि देखियो। कास्की–२ को उपनिर्वाचन उम्मेदवार रहेका कास्की कांग्रेसका देउवापक्षीय नेता खेमराज पौडेललाई उनले आफ्नो प्यानलबाट महाधिवेशन प्रतिनिधिमा राखे। देउवाले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा जिल्ला सभापति बनेका पौडेल उता देउवा प्यानलबाट पनि महाधिवेशन प्रतिनिधिकै उम्मेदवार थिए। शर्माले आफ्नो प्यानलमा पनि राखेर कार्यकर्ताबाट सहानुभुति बटुले। पौडेल कास्की कांग्रेसका पुराना र सादगी नेताका रूपमा कार्यकर्तामाझ परिचित छन्।
कास्कीमा शुक्रराज शर्माको प्रभाव घटाउन जिल्लाका अन्य नेताहरू नलागेका होइनन्। बरिष्ठ नेता पौडेल गुटका शर्माबाहेक अरू सबै नेता लागे पनि शर्मालाई कमजोर बनाउन सक्दैनन्। किनकी, कार्यकर्तामा उनको दरिलो पकडले कसैको केही नलागेको शर्मा पक्षीय एक नेताले बताए। बरिष्ठ नेता पौडेलको प्यानलबाट पहिलो प्रदेश सभापति जितेका शर्मालाई अन्य नेताले त्यसै छाडिदिएका थिएनन्। पौडेल समूहबाट शर्मालाई सभापतिका साझा उम्मेदवार बनाउन बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले २ दिन लामो कसरत गर्नुपरेको थियो।
क्रान्ति गर्न वनारस
८ वर्षको उमेरमै पिता गुमाएका शर्मालाई भिनाजु हेमराज अधिकारीले घर लगेर पढाएका थिए। २०२० सालमा एसएलसी सकेर पर्वतमा आदर्श प्राविमा पढाए। त्यसपछि कास्कीकै विरेठाँटी हाइस्कुलमा पढाउन पुगे। पढाउँदा पढाउँदै उनी थप अध्यनका लागि काठमाडौं हानिए।
भिनाजुका छोरा केशवराज रेग्मी कांग्रेस निकट नेपाल छात्र संघमा आवद्ध थिए। रेग्मीले नै पहिलो पटक शर्मालाई छात्र संघको सदस्यता दिएर राजनीतिमा सरिक बनाएका थिए। पञ्चायत विरुद्ध कांग्रेस संस्थापक विपी कोइरालाले वनारसमा बसेर सशस्त्र क्रान्तिको तयारी गर्दै थिए। शर्मा क्रान्तिमा सहभागी हुने भन्दै वनारसतर्फ लागे।
वनारसमा विपी कोइरालासँग भेटघाटमा शर्माले आफू कास्कीको सल्यान गाउँको भएको बताए। विपीले सोधे, ‘भदौरेको बहादुरे माविबाट कता हो तिम्रो घर?’ आफ्नै गाउँका बारेमा पुरा जानकारी भएझैं विपीले सोधेको देख्दा शर्मा आश्चर्यचकित भए। विपी राजा महेन्द्रसँग शर्माको घरको बाटो हुँदै बागलुङ पुगेका रहेछन्। पहिलो पटक शर्माले विपीकै मुखबाट उक्त जानकारी पाए।
छात्र संघमा आवद्ध शर्मालाई विपी कोइरालाले पहिलो पटक नेपाल तरूण दलको सदस्यता थिए। क्रान्तिका लागि प्रचार प्रसारमा शर्मालाई खटाए। शर्मा काठमाडौं बसेर कास्कीलगायत जिल्ला र गाउँसम्म पार्टीको प्रचार, आन्दोलन र क्रान्तिका कार्यक्रमका बारेमा लेखिएको पर्चा लगायत सामाग्री भूमिगत कार्यकर्तालाई पठाउँथे।
पञ्चायतविरुद्ध सशस्त्र क्रान्तिको आह्वान गर्दै कांग्रेसले ओखलढुङ्गामा आक्रमण गर्यो। विपीले चाहेजस्तो त्यो आक्रमण सफल भएन। पार्टीका नेता, कार्यकर्ता मारिन पुगे। त्यहीँ आक्रमणलाई देखाएर तत्कालिन सरकारले कांग्रेसमा लागेका सबैलाई पक्राउ गर्न थाल्यो, शर्मा पनि पक्राउ परे।
त्यतिबेला एमाले नेता केपी ओली पनि जेलमै थिए। झापा विद्रोहमा हत्या मुद्दा लागेका ओली कास्की कारागार चलान भएका थिए। ओलीसँग शर्माको जेलमै भेट भएको थियो। शर्मा जेल बसेको ३ वर्ष पुगेको थियो। विपी कोइरालाले मेलमिलापको नीति लिएर भारतबाट काठमाडौं फर्के। त्यहीँ बेला शर्मालाई सरकारले रिहा गरेको थियो।
विपी कोइरालादेखि सुवर्ण शमशेर, गणेशमान, गिरिजा, सुशील र हालका सभापति शेरबहादुर देउवालेसमेत शुक्रराजलाई कुशल संगठकका रुपमा चिन्छन्। उनका प्रस्ताव अस्वीकार गर्न सक्दैनन्। कास्कीमा तीन कार्यकाल सभापति बन्दा उनैले पोखरामा जिल्ला पार्टी कार्यालय बनाए। कतिपय क्षेत्रीय र वडा तहका कार्यालयसमेत उनकै सक्रियतामा बन्यो।
२०५६ मा जिल्लाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताए। गण्डकीका सभापति जितेका शर्माले प्रदेशलाई नै कांग्रेसमय बनाउने लक्ष्य बोकेका छन्। चुनावमा गुटगत प्यानल बनाएर गए पनि अब गुटका कुरा गर्न नपाइने उनले बताए। कास्की कांग्रेसका ‘हार्डलाइनर’ शर्माले भनेका छन्, ‘कांग्रेसमा विकृति र विसंगति पसेको छ, अब इमान्दार, दुःख पाएका निष्ठावान कार्यकर्ताको संरक्षण गर्छु, पार्टीलाई प्रजातान्त्रिक समाजवादको वाटोमा फिर्ता ल्याउने गरी काम गर्छु।’
शर्माले आफ्नो राजनीतिक उतारचढावलाई ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ पुस्तकमा उतारेका छन्। उमेरले ७७ वर्ष नाघेका वयोवृद्ध नेता शर्माले कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापति र संसदीय निर्वाचनमा तीन पटक हार व्यहोर्दा कतिपय नेता कार्यकर्ताले अब ‘शुक्रराज युग’को अन्त्य भयो भनेका थिए।
प्रदेश सभापतिमा निर्वाचित भएपछि फेरि उनले आफूलाई अब्बल सावित गर्ने अवसर पाएका छन्। खरो स्वभाव र काममा एकोहोरो खटिन सक्ने शर्माले प्रदेश सभापति कसरी चलाउँछन् त्यो भने आगामी दिनमा खुल्दै जानेछ।