१४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले यसपालि यसअघिको महाधिवेशनभन्दा दोब्बर बढी क्रियाशील सदस्य बनाएको छ।
थपिएका क्रियाशील सदस्यमध्ये केहीले स्थानीय तह, जिल्लामा नेतृत्व पाएका छन् भने कोही प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा छानिएका छन्।
कांग्रेस सदस्यता लिनेहरू विभिन्न पृष्ठभूमिका छन्।
५७ वर्षीय अमृत बोहोरा (हरियाली) रूकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नेपाली कांग्रेसका नगर सभपति हुन्। कात्तिक १९ गते नगर सभापतिमा सर्वसम्मत रूपमा चुनिएका हुन।
आठबिसकोट ३ खदीका उनी त्यसअघि पनि वडा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत रूपमै चुनिएका थिए।
‘हरियाली’ नाम उनलाई माओवादीले दिएको परिचय हो। माओवादी युद्ध उत्कर्षमा रहेको समयमा उनी विद्रोहको भाषाबाट आकर्षित बने। २०७६ सालसम्म बोहोरा माओवादीमै सक्रिय भए।
बोहोरा जिल्ला समन्वय समिति रूकुम पश्चिमको सदस्य पनि हुन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट बोहोरा उक्त पदमा निर्वाचित भएका थिए।
अझैं उनी सोही पदमा छन्। माओवादीमा छँदा भूमिगत राजनीति गरेका बोहोरा साबिक रूकुमको जिल्ला कमिटी थिए। एमालेसँग पार्टी एकीकरण हुँदा बोहोरा कर्णाली प्रदेश कमिटी परिषद सदस्य थिए।
बिस्तारै बोहोरालाई त्यत्रो वर्ष आफूले दुःख-कष्ट गरेको, ज्यानको बाजी लगाएर भूमिगत राजनीति जीवन व्यतित गरेको माओवादी ठिक लाग्न छोड्यो।
किन?
‘हामीलाई युद्ध कालमा रटाइएका आदर्श र भड्किला नाराअनुरूप पटक्कै काम भएन। आफैं जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएर काम गर्ने क्रममा त्यो कुराको झनै बोध भयो। त्यसैले म नेपाली कांग्रेस पार्टीप्रति आकर्षित भएको हुँ।’
उनले माओवादी जनताप्रति उत्तरदायी नभएको महशुस आफूलाई भएपछि नवसामन्तलाई मलजल गर्दै सोही पार्टीमा बसिरहन मनले नमानेको तर्क गरे।
‘सर्वहारा वर्गको पार्टीमा हामीलाई सुरूमा व्यक्तिगत धन सम्पत्ति पार्टीकरण गर्नुपर्छ भन्ने गरिन्थ्यो,’ उनले भने, ‘सत्तामा पुगेपछि माओवादीका नेताहरू नै जति हुन्छ आफैंले अकुत धन संग्रह गर्ने अभियानमा लागेपछि भ्रष्टाचारमात्रै मौलायो। मलाई त्यो पटक्कै मन परेन।’
आफूले समाज रूपान्तरण र देशको व्यवस्था परिवर्तनका लागि राजनीति सुरू गरेको बताउँदै बोहोराले अध्ययन गर्दै जाँदा विपीको विचार तथा सिद्धान्त राम्रो लागेको बताए।
युद्धकालमा गाडी घोडा प्रयोग गर्नुहुन्न र ती प्रयोग गर्ने कांग्रेसीहरू शोसक सामन्त हुन् भन्नेले नै आज सबैभन्दा बढी ती वस्तु प्रयोग गरेको देख्दा बरू कांग्रेस नै ठिक रहेछ भन्ने अनुभव राजनीतिक रूपमा आफूले गरेको उनको भनाइ छ।
‘युवा अवस्थामा जो कोही क्रान्तिकारी हुनु स्वभाविक मान्न सकिएला,’ नगर सभापति बोहोराले भने, ‘उमेर ढक्लिँदा पनि र बुझेर पनि कोही कम्युनिष्ट भइराख्छ भने ऊभन्दा बढ्दा ढोंगी सायद अरू हुँदैन भन्ने मलाई आज महशुस भइरहेको छ।’
कांग्रेसको विचार राम्रो भए पनि नेता-कार्यकर्ताको आचरण तथा आनीबानी सुधार्न जरूरी आफूले देखेको उनले बताए।
‘कांग्रेसको सिद्धान्त र विचार नराम्रो छैन, बरू यसभित्रका केही नेता त्यो विचारलाई बोकेर दृढतापूर्वक उभिन नसकेका हुन,’ बोहोराले भने, ‘ती कुराहरूलाई व्यवहारिक रूपमा उतार्न नसक्नु कांग्रेसको कमजोरी हो।’
आफ्नो नगरपालिकाका जनताले शान्तिपूर्ण तरिकाले पेशा व्यवसाय गरी स्वतन्त्रतापूर्वक बाँच्न चाहेको हुँदा त्यही महशुस गराउन कांग्रेस नगर सभापतिको तर्फबाट आफूले अबका दिनमा पहल गर्ने उनले बताए। ‘काम गरेर शान्ति र निर्धक्कपूर्वक बाँच्न पाउनु ठूलो कुरा रहेछ,’ उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेसले जितेछ भने म यहाँको विकास र सामाजिक न्यायका लागि पनि इमान्दारीपूर्वक पहल गर्नेछु।’