नेपाली कांग्रेसको लुम्बिनी प्रदेशमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुनको प्यानलले सुरूदेखि नै अग्रता लिएको छ।
मतगणनाको सुरूआती चरणदेखि नै अग्रता लिएको पुन समूहले मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेको छ।
लुम्बिनी प्रदेशमा कांग्रेसको संस्थापन पक्षबाट रूपन्देहीका भरतकुमार शाह र पौडेल पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।
शनिबार भएको मतदानको अहिले भैरहवामा मतगणना कार्य भइरहेको छ।
हालसम्म ३ सय ६५ मत गणना हुँदा सभापतिका उम्मेदवार पुनले शाहको भन्दा ६९ मतले अग्रता लिएका छन्।
निर्वाचन समितिका अनुसार २ सय ६५ मत गन्दा ५० मतान्तरले अगाडि रहेका पुनले ३ सय ६५ मत गणना हुँदा ६९ मतका साथ आफ्नो अग्रता कायम गरेका छन्।
पुनले २ सय १६ मत प्राप्त गर्दा शाहले १ सय ४७ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका शाहलाई गृह मन्त्री समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको समर्थन छ।
त्यस्तै, रोल्पाका निवर्तमान सभापति रहेका पुनलाई कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी लगायतको समर्थन छ।
लुम्बिनी प्रदेशमा सभापतिमा जस्तै अन्य पदाधिकारी र सदस्यमा पनि पुनकै प्यानलको अग्रता रहेको निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीले जानकारी दिए।
लुम्बिनी प्रदेशका सबै जिल्ला प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधि रहेकोमा १ हजार ६ सय ३१ मत खसेको थियो।