नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले पार्टीको वडा अधिवेशनमा सभापति शेरबहादुर देउवाकै निर्देशनमा हस्तक्षेप भएको आरोप लगाएका छन्।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ मा वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन चयन गर्ने प्रक्रिया चलिरहेको भन्दै उनले सभापति देउवाले नै हस्तक्षेप गरेको आरोप लगाएका छन्।
‘मतदान अधिकृत अपहरण गराउने, गोली चलाउन लगाई क्रियाशील सदस्यहरूमा भय, डर र त्रास दिलाउने कार्य कसैसँग लुकेको छैन,’ सत्ताको आडमा यस्तो भइरहेको सिंहको भनाइ छ।
साथै सप्तरी ४ र रौतहट ४ मा पनि सभापति देउवाले प्रत्यक्ष रूपमा दबाब दिएको आरोप उनको छ।
निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन देउवा पक्षले हरप्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरूपयोग गर्नु विधिसम्मत नहुने पनि उनले आज प्रेस विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
क्रियाशील सदस्यता लिनका लागि फारम नदिनेदेखि विभिन्न प्रकारका जालझेलसमेत गरेर अधिवेशनमा ढिलाइ गरिएको पनि उनको भनाइ छ।