जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
मंसिर २४ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनमा केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी दिन लागेको उनले सेतोपाटीलाई बताइन्।
सेजुवाल कर्णाली प्रदेशको एक मात्र महिला मेयर हुन्।
०७४ को स्थानीय तहको निर्वाचनबाट उनी मेयरमा निर्वाचित भएकी हुन्। प्रदेशबाट तोकिएको महिला कोटामा आफूले उम्मेदवारी दिन लागेको उनले बताइन्।
‘म यसपालि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु। मलाई नेता कार्यकर्ताहरूले साथ र ऊर्जा दिनुहुनेछ भन्ने विश्वास छ,’ उनले भनिन्।
महाधिवेशनबाट २२ जना महिला केन्द्रीय सदस्यहरु चयन हुन्छ। सात प्रदेशबाट एक/एक जना, खस आर्य कोटाबाट ६ जना र खुलाबाट ९ जना महिला केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ।
पार्टीको विधानअनुसार हुने महिलाको प्रतिनिधित्वलाई सार्थक तुल्याउन र यसका लागि समन्वय गर्न आफ्नो उम्मेदवारी रहने पनि उनले बताइन्।