नेपाली कांग्रेसको लुम्बिनी प्रदेशमा भएको अधिवेशनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुनको प्यानलले अग्रता लिएको छ।
प्रदेश नेतृत्वको लागि शनिबार साँझ मतदान सम्पन्न भए पनि आइतबार बिहानदेखि मतगणना कार्य सुरू गरिएको थियो। जसअनुसार सभापतिमा अमरसिहं पुनले अग्रता लिएका छन्।
निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीका अनुसार साढे ११ बजेसम्म २ सय ६५ मत गणना गर्दा पुनले १ सय ५७ मत प्राप्त गर्दा संस्थापन पक्षका भरत कुमार शाहले १ सय ७ मत प्राप्त गरेका छन्। एउटा मत भने बदर भएको छ।
उपसभापतिमा पनि पुनको प्यानलमा रहेका अष्टभूजा पाठक र भुवनप्रसाद श्रेष्ठले अग्रता लिएका छन्।
पाठक र श्रेष्ठको समान १ सय ५० मत आउँदा शाहको प्यानलमा रहेका राजु खनालको १ सय ९ र सुधाकर पाण्डेको ८० मत आएको छ।
त्यस्तै, महामन्त्री र सहमहामन्त्रीमा पनि पुनकै प्यानलका उम्मेदवारको अग्रता रहेको छ।
महामन्त्रीका लागि पुनको प्यानलमा रहेका बिक्रम खनालले १ सय ६३ र सुरेन्द्रराज आचार्यले १ सय ५६ मत ल्याएका छन्।
शाहको प्यानलमा रहेका खिमानसिंह रायमाझीले ८१ र जन्मजय तिमल्सिना ९२ मत प्राप्त गरेका छन्।
त्यसैगरी, सहमहामन्त्रीमा पनि पुनको प्यानलमा रहेका खगराज पाण्डेले १ सय ४१ र निमा गिरीले १ सय ४३ र बिष्णुप्रसाद खनाल मुस्कानले १ सय ६३ मतका साथ अग्रता लिएका छन्।
सहमहामन्त्रीको लागि शाहको प्यानलमा रहेका माया पुनले १ सय ५, सरिता चौधरीले ९७ र लक्ष्मी नारायण शाहले ९१ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार अन्य सदस्य पदमा पनि पुनको प्यानलमा रहेका उम्मेदवारको अग्रता रहेको छ।