नेपाली कांग्रेस लुम्बिनी प्रदेश नेतृत्वको लागि भैरहवामा सम्पन्न मतदानमा १ हजार ६ सय ३१ मत खसेको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत देशका सबै प्रदेशसँगै लुम्बिनी प्रदेशमा पनि शनिबार मतदान भएको हो।
बिहीबारदेखि सुरू भएको अधिवेशन अन्तर्गत शनिबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भनिए पनि ११ बजेपछि मात्र मतदान कार्य सुरू गरिएको थियो।
गृह मन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पहिलो मतदान गरेर मतदान कार्यको शुभारम्भ गरेका थिए।
लुम्बिनी प्रदेशका सबै जिल्लाहरू प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधि रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक डा बुद्धबहादुर थापाले १ हजार ६ सय ३१ मत खसेको बताए।
भैरहवास्थित महेन्द्र सभागृहमा भएको मतदानका लागि पार्टीको संस्थापन पक्ष र संस्थापन इतर दुवै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।
संस्थापन पक्षबाट प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह नेतृत्वको प्यानल र संस्थापनइतर समूहबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा होमिएका हुन्।
रूपन्देही तथा विभिन्न जिल्लाहरूमा सम्पन्न अधिवेशनहरूमा भएका घटनालाई मध्यनजर गरि मतदान भइरहेको महेन्द्र सभागृह स्थलमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।
प्रादेशिक संरचना अनुसार पहिलो पटक भइरहेको प्रदेश अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्री खाण आफैं विगत चार दिनदेखि रूपन्देहीमै छन्।
जिल्लामा आफ्नो छुट्टै गुट संचालन गर्दै आए पनि संस्थापन समूहबाट सभापतिको उम्मेदवार बनेका भरत कुमार शाहलाई खाणले पनि समर्थन गरेका छन्।
अधिवेशनको उद्घाटन कार्यक्रममा समेत लुम्बिनी प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने र त्यसको लागि शाहलाई सहयोग गर्न खाणले प्रतिनिधिहरूलाई आग्रह समेत गरेका थिए।
यद्यपि रामचन्द्र पौडेल समूहबाट पुनले प्यानल खडा गरेर निर्वाचनमा होमिएपछि मतदान भएको हो।
पौडेल समूहबाट उम्मेदवारी दिएका पुनको प्यानललाई कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, संजयकुमार गौतम, चन्द्र भण्डारी लगायतको समर्थन छ।
मतदाताहरूले सभापति पदका उम्मेदवार दुवै जना हेभिवेटका रहेकाले चुन्न गाह्रो भएको प्रतिक्रिया दिएका छन्। यो अधिवेशनले युवा अनुहार समेत लिएर आउने र यसले केन्द्रीय महाधिवेशनमा समेत प्रभाव पार्ने उनीहरूको दाबी छ।
अधिवेशनको मुखमा पार्टीभित्र गुट र उपगुट बनेको देखिए पनि यो महाधिवेशनसम्म मात्रै रहने भएकोले पार्टीमा दीर्घकालीन असर नपार्ने उनीहरूले दाबी गरे।
सम्पन्न निर्वाचनबाट प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री गरी ९ जना पदाधिकारीमा चयन हुनेछन्।
यस्तै प्रत्यक्ष सदस्य तर्फ १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछन्। समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातीमा २ महिला सहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसंख्यक वा अपाङगमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति रहनेछन् ।