पोखराको प्रदर्शनी केन्द्र नामले मात्र प्रदर्शनी केन्द्र होइन, ठूला ठूला मेला महोत्सव होस् वा राजनीतिक पार्टीका ठूल्ठूला आमसभा यहीँ हुन्छ। बजारको बीचमा फराकिलो खुला ठाउँ भएकाले पनि प्रदर्शनी केन्द्र धेरैको रोजाइमा पर्छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ।
सत्तारूढ कांग्रेसले पनि आफ्नो महाधिवेशनको उद्घाटनदेखि मतदान गर्न यही ठाउँ रोजेको छ। प्रदर्शनी केन्द्र बाहिरको माहोल हेर्दा पार्टीको निर्वाचनभन्दा पनि अरू केही मेला चलिरहेको भान पर्छ।
नयाँबजारबाट प्रदर्शनी केन्द्र जाने गेटैमा ठूल्ठूला ब्यानर राखिएको छ।
गेटको आडैमा कांग्रेस गण्डकी सभापतिका उम्मेदवार अर्जुन जोशीको सचिवालय छ।
गेटबाट भित्र छिर्दा उम्मेदवारका प्रचार सामग्री यति धेरै देखिन्छ कि तुल र ब्यानर नछोपिएको सडक किनार छैन, घरका भित्तामा पनि उम्मेदवारको प्रचार देखिन्छ।
नेपाली कांग्रेस पोखरा महानगर समितिको निर्वाचनमा पनि यस्तै प्रचार देखिएको थियो।
कांग्रेस नेता तथा कार्यकर्ताले उम्मेदवारको प्रचारशैली भड्किलो भएको आलोचना गरेपछि जिल्लाका अन्य अधिवेशनमा प्रचार सामग्री कम देखिएका थिए। त्यतिबेला कांग्रेस कास्कीको जिल्ला कार्यसमिति बैठक बसेर नै भड्किलो प्रचार नगर्न निर्देशन दिएको थियो।
अहिले गण्डकी प्रदेश अधिवेशनमा उम्मेदवारका प्रचार सामग्रीले भित्तामात्र रंगिएको छैन, भोट माग्न कार्यकर्ताको भिड नै लागेको छ।
महोत्सव भित्र छिर्न बढेको हुलजस्तै प्रदर्शनी केन्द्र बाहिर कांग्रेस कार्यकर्ताको भिड लागेको छ।
धेरैजसोको घाँटीमा उम्मेदवारलाई भोट माग्न अपिल गरिएको ब्यानर झुण्डिएका छन्।
गेटबाट भित्र छिर्ने व्यक्तिहरू चिनेका हुन् कि नहुन्, उनीहरू भोट मागिरहेका छन्।
चुनावमा मतदान गर्न आएका प्रतिनिधिको संख्या प्रदर्शनी केन्द्रभित्र कम देखिन्छ। जबकि, भोट माग्न आएका कार्यकर्ताले बाहिर सडक भरिएका छन्।
पार्टीको आन्तरिक निर्वाचनमा देखिएको यस्तो प्रचारशैली विकृति भएको केन्द्रीय सदस्य धनराज गुरूङ बताउँछन्।
आम निर्वाचनमा समेत ठूलाठूला ब्यानर र तुल राखेर गरिने प्रचारलाई निषेध गरिएको भन्दै गुरूङले पार्टीको आन्तरिक चुनावमा उम्मेदवारले तडकभडक गरेर विकृति भित्र्याएको बताए।
’पार्टीको आन्तरिक प्रतिस्पर्धामा जुन तामझाम र तडकभडक देखिएको छ, यो सिधै विकृति हो,’ उनले भने, ‘यसबारे म काठमाडौं गएर केन्द्रीय निर्वाचन समितिसँग कुरा गर्छु।’
उम्मेदवारले प्रचारमा देखाएको तडकभडकले मतदाता प्रभावित हुन नसक्ने उनको दाबी छ।
‘यो पार्टीभित्र क्याडरले मत हाल्ने हो, क्याडर यस्तो विकृतिबाट प्रभावित हुँदैन,’ उनले भने, ‘बाहिर देख्नेका लागि उम्मेदवारले आफ्नो पक्षमा माहोल रहेको देखाउन भने सक्छ।’
कांग्रेसको महाधिवेशनमा गाउँ र जिल्लादेखि नै यस्तो तडकभडक यसपालि बढेको उनले बताए।
‘पहिलेपहिलो यस्तो तडकभडक हुँदैनथ्यो, उम्मेदवारले विचार लिएर कार्याकर्ता माझ जान्थे,’ गुरूङले भने, ‘विचार बोकेर हिँड्नेले तडकभडक गर्नु आवश्यक छैन।’
कांग्रेस महाधिवेशनमा २ पटक केन्द्रीय सदस्य उठ्दा आफूले यस्तो प्रचार नगरेको उनले बताए।
‘मैले २ पटक केन्द्रीय सदस्य उठ्दा यस्तो प्रचार गरिनँ, साथीहरूले धनराज दाइ तपाईंको व्यानर देखिनँ भनेर ल्याएर टाँसेका थिए, मैले हटाइदिएँ,’ उनले भने, ‘यो राम्रो होइन, एजेण्डा बोकेका नेतालाई कार्यकर्ताले चिन्छन्, मूल्यांकन गर्छन्।’
महाधिवेशनमा उम्मेदवारले विचार र एजेण्डा प्रवाह गर्नुपर्ने उनको मान्यता छ।
उम्मेदवारले वैचारिक रूपमा आफूलाई प्रमाणित गर्नुपर्ने गुरूङको तर्क छ।
‘अहिले त विचार र एजेण्डा देखिँदैन, खाली भोट माग्न तडकभडक देखाएका छन्,’ उनले भने, ‘पैसा बगाएर चुनाव जितिँदैन, जित्न पनि हुँदैन।’