नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश अधिवेशनमा मतदान गरेका छन्।
कांग्रेसको प्रदेश कार्यसमिति चयन गर्न मतदानस्थल पोखराको प्रदर्शनी केन्द्र पुगेर पौडेलले मतदान गरेका हुन्।
उनले मतदान गर्दा आत्मा साक्षी राखेर पार्टी रूपान्तरण गर्न सक्ने उम्मेदवार खोजी-खोजी मतदान गरेको प्रतिक्रिया दिए।
‘मतदान गर्दा आत्मालाई साक्षी राखेर नेपाली कांग्रेसको भलो, रूपान्तरण गर्न जुन उम्मेदवारबाट विश्वास र भरोसा लिएको छु, तिनै उम्मेदवारको नाम खोजी-खोजी चिन्ह लगाएँ,’ मतदानपछि उनले भने।
गण्डकी सभापतिमा बरिष्ठ नेता पौडेल समूहबाट कांग्रेस कास्कीका पूर्वसभापति शुक्रराज शर्माको एउटा प्यानल छ भने सभापति शेरबहादुर देउवाको प्यानलबाट अर्जुन जोशीको नेतृत्वमा अर्को प्यानल छ।
मतदान गर्दा उम्मेदवारको नाम कण्ठ नभएकाले दुइटा लिष्ट हेरेर मतदान गरेको पौडेलले बताए। तर उनले कसलाई मतदान गरेको खुलाएनन्।
‘गोप्य मतदान हो, अहिले भन्ने विषय होइन,’ उनले भने।
अर्को प्रसंगमा पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने निर्णय भइनसकेको बताएका छन्।
‘काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्छौं, हाम्रो बीचमा जे सल्लाह हुन्छ, त्यही निर्णय हुन्छ,’ उनले भने, ‘अहिले म हुन्छु त भनेर भन्दिनँ, विचार समूहबाट एउटै उम्मेदवार हुन्छ।’
सभापति लगायत पदाधिकारीका लागि नेताहरूबीच सहमति नभएको प्रसंगमा उनले उम्मेदवारी दर्ता गर्ने बेलासम्म सहमति हुने बताए।
उनले भने, ‘नेताहरूबीच कुरा मिल्छ, यहाँ गण्डकीमा जसरी मिलाए, माथि पनि त्यसरी नै मिलाउँछौं।’