नेताहरू मञ्चमा कांग्रेस एकताबद्ध बनेर अघि बढ्ने अभिव्यक्ति दिइरहेका थिए। आगामी निर्वाचनबाट कांग्रेस सबैभन्दा शक्तिशाली पार्टी बन्ने घोषणा हरेक नेता गर्दै थिए।
दर्शकदीर्घामा बसेर नेताहरूका भाषणको भिडियो आफ्नो मोबाइलमा कैद गरिरहेका ओखलढुंगाका कांग्रेस कार्यकर्ता भीष्म राई भने भाषणैपिच्छे मुसुमुसु हाँसिरहेका थिए।
शुक्रबार विराटनगरमा कांग्रेस प्रदेश १ को अधिवेशन उद्घाटनमा सक्रियता देखाएका उनलाई सेतोपाटीले सोध्यो ‘किन हो, सबैको भाषण सुन्दै मुसुमुसु हाँसिरहनु् भएको छ नि?’
उनले कारण सुनाए ‘नेताका कुरा सुनेर पनि अचम्मै लाग्छ। पदको लडाईंका लागि पार्टी वडासम्मै दुई फ्याक भएको छ। यहाँ मञ्चमा पुगेसी सबै एकताको कुरा गर्छन्।’
भएभरको शक्ति लगाएर आन्तरिक चुनावी प्रतिष्पर्धा जित्न नेताहरू सक्रिय रहेका बेला कार्यकर्ताहरू भने आउँदा आम निर्वाचनहरूको नतिजासँग बढी चिन्तित भेटिए।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावको चिन्ताले सताइएका उनीहरू अहिलेको प्रतिष्पर्धालाई ‘साँच्चैको स्वाभाविक’ तुल्याउनुपर्ने अपेक्षामा छन्।
‘स्थानीय चुनाव, प्रदेश चुनाव र प्रतिनिधिसभा चुनाव मुखैमा आउँदैछ, हाम्रो पार्टी यहीबेला महाधिवेशनका नाममा कतै दुई कतै त्योभन्दा धेरै चिरामा विभाजित भएको छ,’ भीष्म राईले चिन्ता व्यक्त गरे ‘यसको तुष तत्कालै साम्य भयो भने त ठीकै छ। तर, कायमै रह्यो भने त यसले चुनावको परिणाममै हान्छ नि!’
शुक्रबार विराटनगरमा सुरू भएको कांग्रेस प्रदेश १ को पहिलो अधिवेशनमा सहभागी बन्न विभिन्न जिल्लाबाट आएका कांग्रेस कार्यकर्ताहरुमध्ये धेरैको चिन्ता उनको जस्तै देखियो।
नेताहरू सकेसम्मको शक्ति र स्रोत लगाएर पार्टी नेतृत्वमा आफू स्थापित हुन र आफूले चाहेका व्यक्तिलाई नेतृत्वमा ल्याउन व्यस्त छन्।
नेताहरूको यही चाहनाले अहिले कांग्रेस प्रष्टतः दुई समूहमा विभाजित बनेको छ। कार्यकर्ताहरूका लागि पार्टीभित्रको यही ध्रुवीकरण चिन्ताको विषय बनेको छ।
आन्तरिक प्रतिष्पर्धाका नाममा पार्टी वडा तहबाटै दुई चिरामा विभाजित भएको र चुनावको मुखैमा भएको यो गुटबन्दीले चुनावी परिणाममा असर गर्ने चिन्ताले सताएको हो।
राईका अनुसार आन्तरिक चुनावी प्रतिष्पर्धाको तुष हरेक तहका निर्वाचनमा देखिने गरेको छ।
‘भन्नलाई त लोकतान्त्रिक हुँ भन्दै पार्टीको चुनाव हुन्छ, जित्ने त खुसी हुन्छ नै, हार्नेहरू बदला लिने दाउ हेरेर बस्न थालिहाल्छन्,’ उनले सुनाए ‘यो काँग्रेसको मात्रै होइन, सबै दलका देखिएको समस्या हो । तर, कठोर अनुशासन नभएको काँग्रेसमा यो जोखिम झनै धेरै हुन्छ।’
पार्टीको आन्तरिक प्रतिष्पर्धाले बढाएको असमझदारी बढ्दै गएर घात–अन्तर्घातमा उक्लिने तहको समस्या सबैजसो दलमा देखिने गरेको छ। चुनावी हार लगत्तै वडैपिच्छे जसो देखिने–सुनिने अन्तर्घातको गुनासो र विवाद दलहरुका लागि टाउको दुखाइको विषय हुँदै आएको छ। यही समस्याका भुक्तभोगी कांग्रेस कार्यकर्ताहरू त्रस्त देखिएका हुन्।
‘अहिले नेताहरूले आफू वा आफूले भनेको मान्छेलाई जिल्ला, प्रदेश, क्षेत्र वा केन्द्रमा ल्याउन पाए पुगेको देखिएको छ,’ प्रदेश महाधिवेशनमा सहभागी हुन आएकी झापाकी महाधिवेशन प्रतिनिधि लीला कटुवालले भनिन् ‘तर, यसपछिको अवस्था सम्हाल्न नसक्ने हो भने त्यसले भयंकर नकरात्मक अवस्था ल्याउन सक्छ। यही समस्या हल गर्ने नेतृत्व आउन सक्नुपर्छ।’
स्वाभाविक लोकतान्त्रिक अभ्यास भएपनि वडादेखि नै देखिएको समूहगत प्रतिष्पर्धाले आपसी वैमनष्यता हुर्काउने र असमझदारी बढाउने चिन्ता भएको उनको भनाइ छ।
प्रदेशकै सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि करुणा कटुवाल पनि यो चिन्ताले सताइएकी छन्।
‘कांग्रेसमा गुटबन्दी झ्याँगिएकै कारण २०६४ को निर्वाचनमा कमजोर नतिजा आयो,’ उनले भनिन् ‘कांग्रेस कमजोर हुँदा देश र संविधानले धेरै दुःख पायो।’
२१ वर्षीया महाधिवेशन प्रतिनिधि करुणा चुनावी प्रतिष्पर्धाको असन्तोषलाई तत्कालै भुल्ने र गुटबन्दीको असर कम गराउन नलागी कांग्रेस नेतृत्वलाई धरै नभएको बताउँछिन्।
कार्यकर्ता मात्रै होइन, कांग्रेस केन्द्रमा प्रभाव राख्ने नेताहरू सबै यो चिन्ताबाट चिन्तित छन्।
शुक्रबार विराटनगरमा सम्बोधन गर्ने डेढ दर्जनभन्दा बढी नेताहरू हरेकले ‘आन्तरिक प्रतिष्पर्धा’ ले तुष ल्याउन नहुने कुरामा जोड दिइरहेका थिए।
प्रदेश १ काँग्रेस संसदीय दलका नेता राजीव कोइराला यही विषयले आक्रोशित देखिन्थे। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनी आक्रोशित अन्दाजमा पेश भए ।
भने ‘तपाईंहरूलाई थाहा छ, वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म महाधिवेशन हुँदा कांग्रेस वडा तहदेखि दुई चिरामा बाँडिएको छ। यो विभाजनको असर घटाउन नेतृत्व सक्षम हुनुपर्छ। होइन भने ठाउँ छाड्नुपर्छ।’
कोइरालाका अनुसार पार्टीको चुनावले आम निर्वाचनलाई असर गर्ने उदाहरण विगतमा बारम्बार देखिएको छ । ‘त्यसको म्यानेज अबको आवश्यकता हो,’ कोइराला थप्छन् ‘अन्यथा कांग्रेसले फेरि पनि पछुताउनुपर्नेछ।’
आन्तरिक चुनावी नतिजालाई एकदमै स्वाभाविक रूपमा लिनुपर्ने र आन्तरिक एकता जोगाएर अघि बढ्नुपर्ने कांग्रेस कार्यकर्ताको अपेक्षालाई नेतृत्वले व्यवहारतः कार्यान्वयन गर्छ?
‘निश्चय नै गर्नेछ,’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास र संस्कार कांग्रेसले देखाउँनेछ।’
तर, फेरि पनि प्रश्न भने उही छ , आफैलाई चुनाव हराउने अर्को दलको उम्मेद्वारलाई पहिलो माला लगाइदिने र बधाइ दिने शर्माले सोचे जस्तै अवस्था कांग्रेसमा होला ?
‘सबै विश्वप्रकाश जस्तो छन् र काँग्रेसमा?’, ओखलढुंगाका भीष्म राईको चिन्तै यही छ ‘भनेर मात्रै भएन, व्यवहारमा सबैले देखाइदिए यो चिन्ता किन हुन्थ्यो ?’