धनकुटा बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया करूणा कटुवाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्।
धनकुटा कांग्रेसका हस्तीहरूसँग चुनाव लडेकी उनले खुला महिलातर्फका आठ जनामध्ये दोस्रो धेरै मत प्राप्त गरिन्।
नेपाल विद्यार्थी संघ धनकुटा क्याम्पसकी सभापतिसमेत रहेकी करूणाले यसैपटक पार्टीको क्रियाशील सदस्यता पाएकी हुन्।
तर, उनी भन्छिन्, ‘सदस्यताको प्रमाण पाएको मात्रै यसपालि हो, पार्टी काममा सक्रिय भएको त आठ वर्ष भइसक्यो।’
पार्टीको प्रदेश १ अधिवेशनमा सहभागी बन्न विराटनगर आएकी करूणासँग सेतोपाटीका राजु अधिकारीले गरेको कुराकानी :
शिक्षा शास्त्रमा पनि अर्थशास्त्र पढिरहनुभएको रहेछ। आकर्षक करिअरतिर आँखा नलगाएर राजनीतिमा नै किन आउनु भयो?
मेरो पारिवारिक पृष्ठभूमि नै राजनीतिक थियो, छ। सम्भवतः त्यसले नै मलाई बढी राजनीतितिर डोर्याएको होला। फेरि मलाई सानैदेखि नै सामाजिक काममा बढ्ता रूची थियो।
मेरो बाबा-ममी नै कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। सामाजिक काममा रमाउने उहाँहरूको गुणले सायद मलाई पनि प्रभाव पारेको होला। त्यसैले यतैतिर बढी रूची भयो। मेरो परिवारले पनि राजनीतिक–सामाजिक काममा लाग्न हौसला दिएका कारण त्यही पारिवारिक संस्कार र प्रेरणाले म राजनीतिमा लागें।
तपाईंको लक्ष्य नै पूर्णकालीन राजनीतिज्ञ बन्ने छ कि अरू केही?
म राजनीतिमै भविष्य खोजेर लागेको हुँ। अहिलेको समयमा पढाइ बेगरको राजनीतिको काम छैन भन्ने मलाई राम्ररी थाहा छ। त्यसैले पढाइ र राजनीतिलाई सँगै अगाडि लैजाने कुरामा प्रष्ट छु।
तपाईंले कांग्रेस राजनीतिमा आफूलाई होम्न कुन कुराले बढी प्रेरित गर्यो ? पारिवारिक पृष्ठभूमि कि कांग्रेसको नीति सिद्धान्तले?
म कांग्रेसको नीति सिद्धान्त मन परेर नै राजनीतिमा लागेको हुँ। कांग्रेसभित्रको लोकतान्त्रिक पद्धति र समाजवादको आदर्श यसको लोभलाग्दो पक्ष हो।
कांग्रेसले लिएको लोकतान्त्रिक समाजवादको नाराले नै आम नेपालीलाई समेट्न सक्छ भन्ने कुरामा ‘कन्भिन्स’ भएर, त्यो अभियानमा सक्रियतापूर्वक भूमिका गर्न म राजनीतिमा आएको हुँ।
म अहिले पनि दाबी गर्छु, कांग्रेसले बाहेक बहुसंख्यक नेपालीलाई समेट्न सक्ने, उनीहरूलाई एकताबद्ध तुल्याएर अघि बढ्ने अरू दलले सक्दैनन्।
पार्टीको अधिवेशनमा चुनाव लड्न पाउनुमात्रै लोकतान्त्रिक हुनुको प्रमाण हो?
निश्चय नै होइन। चुनाव लड्नु वा लड्न पाउनुलाई मात्रै लोकतन्त्र मान्न सकिन्न। सार्थक लोकतन्त्र भनेको जनताले स्वत:स्फूर्त रूपमा नागरिक अधिकार सदुपयोग गर्न पाउनु पर्छ।
कुनै पनि ढंगको बन्धन बेगर आम मान्छेले रहन पाउनुपर्छ। वास्तविक लोकतन्त्र त्यही हो। अरूको शासनमा रहेर, खुम्चिएर बस्न सकिन्न। यो अवस्थाको ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छ भन्ने मेरो विश्वास हो।
तपाईंलाई कांग्रेसमा मनपर्ने नेता को हुन्? किन?
मलाई गगन थापा, विश्वप्रकाश शर्मा मनपर्छ। उहाँहरू अध्ययनले , क्षमताले भरिएको नेताहरू हुनुहुन्छ। उहाँहरूसँग मिसन र भिजन दुवै छ।
पार्टी सभापतिमा कसलाई समर्थन गर्दै हुनुहुन्छ?
अब महाधिवेशनमा क–कसले उम्मेदवारी दिनुहुन्छ, त्यसपछि कसलाई समर्थन गर्ने, कसलाई नगर्ने टुंगो गर्नेछु। तर, म युवाहरूलाई मुख्य नेतृत्वमा जिताउन पाए हुने भन्नेमा छु।
यसैपटक पार्टीको सदस्य लिएको, भर्खरै कलेज पढ्दै गरेको युवतीलाई कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न कतिको सकस भयो?
धेरै सकस भयो। किनभने, मभन्दा धेरै सिनियरहरू चुनावी मैदानमा हुनुहुन्थ्यो। र, धेरै योगदान गर्नु भएकाहरूसँग मैले प्रतिष्पर्धा गर्नु थियो। त्यसक्रममा मेरो उमेरका कारणले, मेरो लैंगिक पहिचानका कारणले छेक्न खोज्ने प्रयास त हुने नै भए।
युवा त्यसमा पनि महिला भएकै कारण सकस भयो भन्नुभएको हो?
हाम्रो समाजमा अहिले पनि महिलालाई राजनीतिक सक्रियताका लागि पुरूषलाई जतिको अनुकूलता छैन। एउटा महिला राजनीतिमा होमिँदा समाजले जुन तरिकाले हेर्छ, जगजाहेर छ। म त्यस्तो दृष्टिकोण भत्काउन र चिर्न चाहन्छु।
यसै पनि महिलाहरूको राजनीतिक संलग्नता पुरूषको दाँजोमा कम छ। व्यक्तिगत रूपमा मलाई त छैन तर मजस्ता हजारौं साथीहरूलाई हजारौंलाई अनेकन बाधा बन्धन छ। जतिसुकै बेला पनि, जहाँसुकै पुग्न संगत गर्न नै समस्या छ।
महिलाको चरित्रसँग जोडेर कुरा गर्ने अपसंस्कार व्याप्त छ। तर, म यो मान्यता भत्काउन लाग्ने प्रण गरेरै राजनीतिमा होमिएको हुँ। हामी (महिला) कम छैनौं, पुरूषभन्दा राम्रो काम गरेर देखाउन सक्छौं भनेर देखाउन म प्रतिबद्ध छु।
राजनीतिमा युवाको सहभागिता किन जरूरी छ?
अहिलेको युग सूचना प्रविधिको हो। नयाँ पुस्ता त्यसमा अभ्यस्त छ, उसले आफ्ना अग्रजहरूबाट धेरै कुरा सिकेको छ। आफैं पनि हरदम सिक्न, बुझ्न चाहन्छु।
नयाँ पुस्ता, नयाँ भिजनसहित अघि बढ्न, अघिल्लो पुस्ताको अनुभवलाई सम्मान र ग्रहण गर्दै सकारात्मक प्रगतिको बाटोमा अघि बढ्न उत्साह युवामै हुन्छ। त्यसैले राजनीतिमा युवाको आगमनले त्यो क्षेत्रलाई नै ऊर्जा दिन्छ।
तपाईंका यी सबै अपेक्षाहरू कांग्रेसभित्र विद्यमान छ? अहिले कांग्रेस जसरी चलेको छ, सही छ?
सबै ठाउँमा यी सबै कुरा छन् र कांग्रेस शतप्रतिशत सही छ म भन्दिनँ। हाम्रा अपेक्षाहरू, कांग्रेसले गरिरहेका कामहरूको तुलना गर्दा कांग्रेसले ८० प्रतिशत सही नै गरिहेको छ भन्ने लाग्छ। पार्टीमा युवा पुस्ता नेतृत्वमा पुग्दा यो अझ सुधार हुने आशा हामी गर्न सक्छौं।
अहिलेको भन्दा अझ राम्रो कांग्रेस कसरी बनाउने?
कांग्रेसलाई अहिलेभन्दा राम्रो बनाउनुको विकल्प छैन। त्यसका लागि गुटभन्दा माथि रहेर, पार्टीको जुन नारा र सिद्धान्त छ त्यसलाई आत्मसात गरेर संगठन बनाउनुपर्छ।
कांग्रेसमा व्याप्त गुटबन्दीले यति धेरै आन्तरिक द्वन्द्व सिर्जना गरेको छ कि, कुनै पनि नेताहरू व्यक्तिगत लाभहानी भन्दा माथि जानै नसक्ने अवस्था आएको छ।
यस्तो संगठनमा देश, पार्टीभन्दा व्यक्तिगत स्वार्थ प्रधान हुन्छ, सामूहिकता हराउँछ। त्यही समस्याले कांग्रेस ठूलो शक्ति बन्न सकेन। कांग्रेस मुख्य शक्ति नहुँदा के भयो, सबैलाई थाहा छ। देशमा जब संकट पर्छ, कांग्रेसले नेतृत्व लिएको इतिहास छ। त्यही इतिहासलाई निरन्तरता दिन अब गुटबन्दीमुक्त, सबै पुस्तासहित युवाको उत्साहजनक सहभागिता हुनुपर्छ।
तपाईंहरू यस्तो अपेक्षा गर्दै हुनुहुन्छ तर कांग्रेस भने बल्ल संघीय अभ्यासमा जाँदैछ। अपेक्षा र वास्तविकताबीचको खाडल एकदमै गहिरो भएन?
कमजोरीमुक्त कुरा केही हुँदैन, कांग्रेसमा पनि पक्कै कमजोरी थिए, छन्। यसलाई सुधारेर जानुपर्छ। हामी सुधार्न सकिन्छ भन्ने लागेरै आएका छौं।
कांग्रेसले गरेका राम्रा कामहरू सम्झनु पर्यो भने के सम्झिनुहुन्छ?
कांग्रेसले अहिलेसम्म गरेकोमध्ये राम्रो काम धेरै छन्। तर, मैले अहिले तत्कालै सम्झेको चाहिँ नेपालमा दलभित्र होस् वा राज्यमा महिलालाई सहभागी गराउने, उनीहरूको प्रतिनिधित्व गराउने काम कांग्रेसले गरेको छ।
संविधान निर्माणको नेतृत्व कांग्रेसले नै गरेको हो। अहिले संविधानको संरक्षक पनि कांग्रेस नै बन्यो। धेरै छन्।
नराम्रो काम चाहिँ?
नराम्रा काम पनि कांग्रेसले गरेको छ। तर, अहिले ठ्याक्कै सम्झिन चाहिँ सकिनँ।
कांग्रेस प्रदेश १ को अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने तपाईंका नेताहरूले ‘संघीय गणतन्त्र संकटमा छ’ भन्नुभयो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतासहितको यो व्यवस्था साँच्चै संकटमा छ?
दुनियाँमा संकटबेगरको केही हुन्न। तर, लोकतन्त्रको विकल्प अरू केही हुनैसक्दैन।
अहिले एक कोणबाट धर्मनिरपेक्षताको विरोध पनि सुनिन्छ। मलाई त धर्मनिरपेक्षता नै ठीक लाग्छ। सबै धर्मको सम्मान, समभाव र सहिष्णुता नै लोकतन्त्र हो। लोकतन्त्रको विकल्प राजतन्त्र वा अरू कुनै तन्त्र हुनै सक्दैन।
अनि संघीयताले खर्च बढायो भन्ने कुरा पनि सुनिएको छ। तर, यसले खर्चमात्रै बढाएको छैन, गाउँ-गाउँमा विकास पुर्याए। जनताको सबलीकरण गरेको छ।
आफैं नेतृत्व गर्ने हिम्मत जनतामा बढाएको छ। त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत पार्दै अघि बढ्दा नै मुलुक विकास र प्रगतितिर लम्किने कुरामा म ढुक्क छु।
कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठेको छ। यसमा तपाईंको मत के हो?
कांग्रेसमा नेतृत्व परिवर्तन जति जरूरी छ, पार्टीमा गुणात्मक परिवर्तन पनि उत्तिकै जरूरी छ।
महत्वपूर्ण कुरा पार्टीमा पुस्तान्तरण आवश्यक छ। त्यो पनि सैद्धान्तिक वैचारिक रूपान्तरण। अहिले गुटहरू बढी सक्रिय भएर संगठन भन्दा पनि व्यक्तिगत स्वार्थमा बढी केन्द्रित छ।
नेतृत्व परिवर्तन हुँदै गर्दा वैचारिक रूपान्तरण पनि हुनुपर्छ। मैले चाहेको कांग्रेस केबल अधिवेशनमा मात्रै सक्रिय हुने होइन, सैद्धान्तिक रूपमा प्रष्ट रहेर जनतासँग जोडिएको पार्टी हो। अब त्यस्तो सदैव गतिशील रहने कांग्रेस बनाउने हो।