नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि भरत कुमार शाह र अमरसिंह पुनले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
संघीय संसदमा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका रूपन्देहीका शाह र नेपाली कांग्रेस रोल्पाका निवर्तमान जिल्ला सभापति रहेका पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
संस्थापन समूहमा रहेका शाहको प्यानलबाट उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएका छन्।
शाहको प्यानलबाट महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै, सह-महामन्त्रीमा रूपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिएका छन्।
यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा रहेको पुनको प्यानलबाट पनि सबै पदमा उम्मेदवारी परेको छ। जसअनुसार उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकको उम्मेदवारी परेको छ।
उक्त प्यानलबाट महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा सह-महामन्त्रीमा प्युठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल (मुस्कान) र दाङका खगराज पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन्।
पूर्वराज्यमन्त्री समेत रहेका शाहलाई पार्टीभित्र बलियो उम्मेदवारको रूपमा हेरिए पनि जिल्ला तहमा सम्पन्न निर्वाचन र महाधिवेशन प्रतिनिधिको आधारमा पौडेल समूहको वर्चश्व देखिएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँकेमा अझैसम्म जिल्ला अधिवेशन नभए पनि अधिवेशन सम्पन्न भएका ९ जिल्लामा पौडेल समूहले जितेको छ।
कांग्रेस नेताहरू खाण र शाहको गृहजिल्ला रूपन्देही तथा बर्दियामा मात्र देउवा पक्ष विजयी भएको छ। तर दुवै पक्षले लुम्बिनीमा आफू बलियो रहेको दाबी गर्दै आएका छन्।
शाहले २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा एमालेका रामनाथ ढकालसँग पराजित भए पनि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने विजयी भएका थिए। त्यसअघि २०५६ साल र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा शाह विजयी भएका थिए।
शाहले पार्टीभित्र आफूले गरेको योगदानको मूल्यांकन गरी आफूलाई मत दिने दाबी गर्छन्।
उता पुनले पनि सबै जातजाति र भूगोल समेटेर पार्टीलाई सशक्त बनाउने कामको लागि आफूलाई मतदान गर्ने दाबी गर्छन्।
उनले युवामय कांग्रेस र पार्टीभित्र सबैलाइ एक ढिक्का बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन्।
शुक्रबार उम्मेदवारी दर्ता गरेपछि दुवै पक्षका उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन्।
उनीहरूले नेतृत्वका लागि एउटै पार्टीबाट दुई समूह भएर उम्मेदवारी दिनु स्वाभाविक भएकोले यसलाई गुट-उपगुट बनाएको भन्न नमिल्ने बताउँछन्।
महाधिवेशनको क्रममा नेतृत्वको लागि प्रतिस्पर्धा हुँदा पार्टी अझै सशक्त र मजबुत बन्ने उनीहरूले बताए।
केन्द्रमा संस्थापन पक्षमा रहे पनि जिल्लामा आफ्नो छुट्टै समूह बनाएका शाहलाई गृह मन्त्री बालकृष्ण खाणले समेत समर्थन गरेका छन्।
बिहीबार सम्पन्न महाधिवेशन उद्घाटन कार्यक्रममा नै खाणले पहिलो पटक चयन हुन लागेको प्रदेशको नेतृत्व सहमतिमा गर्नुपर्ने भन्दै शाहको पक्षमा सहमति जुटाउन आग्रह गरेका थिए।
पौडेल समूहबाट उम्मेदवारी दिएका पुनको प्यानललाई कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी लगायतको समर्थन छ।
प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जनाले मतदान गरी ६९ जनाको लुम्बिनी प्रदेश कार्यसमिति चयन गर्ने नेपाली कांग्रेसले जनाएको छ।