नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश कार्यसमितिको सभापतिमा संस्थापन इतर पक्षबाट नारायाणदत्त मिश्रले दाबी गरेका छन्।
कांग्रेस प्रदेशका शीर्ष नेताहरू सहमतिमा कार्यसमिति छान्न कसरत गरिरहेका बेला मिश्रले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
संस्थापन पक्षबाटै आकांक्षीबीच सहमति नभएपछि आफू पनि चुनाव लड्न इच्छुक भएको उनले बताए।
मनोनयन दर्ता गर्ने तालिका नै रोकेर उम्मेदवारसहित प्रदेशका शीर्ष नेता सहमतिका लागि बिहानैदेखि प्रयासरत छन्।
बुधबारदेखि सुरू भएको प्रदेश अधिवेशनअन्तर्गत आज बिहान ८ देखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम थियो।
‘सहमति गर्न भनेर २ बजेसम्म मनोनयन दर्ता गर्ने समय सरेको छ,’ प्रचारप्रसार संयोजक नृप सुनारले भने।
कुनै हालतमा सहमति नभए आजै २ देखि ४ सम्म मनोनयन दर्ता हुनेछ। बेलुका साढे ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।
सुदूरपश्चिममा देउवा पक्षबाटै ६ जना प्रदेश सभापतिका आकांक्षी छन्।
कैलालीबाट बहालवाला जिल्ला सभापति नरनारायण शाह ‘मनु’ र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्।
पूर्वराजदूत तथा पूर्वपरराष्ट्र राज्यमन्त्री बझाङका अर्जुनजंगबहादुर सिंह, अछामबाट पूर्वसञ्चार राज्यमन्त्री गोविन्द शाहले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्।
नेविसंघका नेता डोटीका पुष्पकुमार शाही र कांग्रेस सुदूरपश्चिम संसदीय दलका सचेतक तथा प्रदेश सभाका सांसद गोविन्द बोहराले डडेल्धुराबाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय मामिला तथा कानुन मन्त्री दिलेन्द्र बडुको संयोजकत्वमा यहाँ प्रदेश अधिवेशन भइरहेको छ।
मन्त्री बडुकै नेतृत्वमा सहमतिको प्रयास भइरहेको छ। उनी संस्थापनइतर पक्षका मानिन्छन्।
संस्थापन पक्षका नेताले पूर्वमन्त्री वीरबहादुर बलायरलाई प्रदेश सभापतिका रूपमा प्रस्ताव गरेका छन्।
उनलाई संस्थापन इतर पक्षले समर्थन गरिसकेको छैन ।