नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आउँदो निर्वाचनमा कसैसँग नमिल्ने बताएका छन्।
कांग्रेस गण्डकी अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कुनै पनि दलसँग नमिली एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन्।
‘आउँदो निर्वाचनमा नेपाली कांग्रेसको कसैसँग मिलन हुँदैन, कसै कुनै पार्टीसँग नमिलेर हामी एक्लै हिँड्नुपर्छ,’ कोइरालाले भने, ‘हामी एक्लै विजय हासिल गर्छौं।’
उनले कांग्रेस गुट उपगुटले ध्वस्त भएको भन्दै पार्टीभित्र एकता आवश्यक रहेको बताए।
कांग्रेसको नेतृत्वमा धेरै राजनीतिक परिवर्तन र विकासका अभियान चलाएको भन्दै उनले महाधिवेशनबाट कोही आत्तिन नहुने बताए।
‘अधिवेशनबाट तर्सिएर, आत्तिएर हुँदैन, अधिवेशन भनेको कांग्रेसलाई एकजुट बनाउने थलो हो,’ उनले भने, ‘कांग्रेसलाई हराउने भनेको कांग्रेसभित्रै हो, कम्युनिष्ट जति मिले पनि कांग्रेसलाई हराउन सक्दैन।’