पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा नेपाली कांग्रेस गण्डकीको अधिवेशन उद्घाटन समारोह चलिरहेको थियो।
प्रदेश सभापतिका आकांक्षी रहेका नेता अर्जुन जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा मञ्चमा बोलाइयो। मन्तव्यका क्रममा उनले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिदिए।
नयाँ बजारदेखि प्रदर्शनी केन्द्र जाने बाटोभरि सभापतिका उम्मेदवार जोशीले प्रचार सामग्री टाँसेका थिए।
उनी सभापति देउवा पक्षका उम्मेदवार हुन्।
बरिष्ठ नेता पौडेल पक्षमा ४ सभापतिका आकांक्षी भए पनि उनीहरू कसैको पनि प्रचार सामग्री देखिएनन्। साझा उम्मेदवारको खोजीमा उनीहरूले प्रचार नगरेको जनाएका छन्।
प्रदेश अधिवेशनको उद्घाटन मञ्चबाट जोशीले उम्मेदवारी घोषणा गरेपछि कांग्रेस कार्यकर्ताले होहल्ला गर्न थाले।
मञ्च नजिकै पुगेर नाराबाजी गर्न थाले।
कतिपय कार्यकर्ताले प्रदेश अधिवेशनको संयोजक पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई दोस्रो केपी ओलीको संज्ञा दिँदै तानाशाही समेत भन्न भ्याए।
होहल्लाकै बीच पूर्वमन्त्री यज्ञबहादुर थापा मञ्च पुगे। माइक समातेर बोल्न थाले।
‘म यज्ञबहादुर थापा बिपी कोइरालाको आम सभाको उद्घोषक थिएँ,’ उनले भने, ‘मलाई लाग्छ मेरो हैसियत यहाँ मञ्चमा बोल्नेहरूको भन्दा कम छैन।’
देउवा पक्षीय सभापतिका आकांक्षी जोशीले उम्मेदवारी घोषणा गरिदिएका कारण सभापतिका अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने नाराबाजीमा लागेका कार्यकर्ताले माग गरेका थिए।
कार्यक्रममा पौडेल पक्षका सभापति आकांक्षी थापा, देवराज चालिसे र शुक्रराज शर्मा कार्यक्रममै थिए। उनीहरूले पनि आफूहरू बोल्न पाउनुपर्ने माग राखे।
उद्घाटन कार्यक्रमका सभापति श्रेष्ठ थिए। प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत पनि मञ्चासिन थिए।
कार्यक्रम संचालक कास्कीका पूर्वसभापति कृष्ण केसी लगायतले सभापति श्रेष्ठसँग अन्य नेतालाई पनि बोल्न समय दिनुपर्ने बताए।
माइकमा भने सभापतिका आकांक्षी पूर्वमन्त्री थापा बोलिरहेका थिए।
उनले भने, ‘गोपालमान दाइ, रामचन्द्र दाई, महामन्त्री हुनुहुन्छ, तपाईंहरूको व्यवस्थापनले कहाँ पुर्याउँछ मेरो पार्टीलाई, थापाले भने, ‘चुनाव लड्नुस्, जित्नुस्, हार्न त दिनुस् हामीलाई।’
होहल्लाकै बीच सभापतिका अर्का आकांक्षी देवराज चालिसेले माइक समाते।
केन्द्रीय समितिमा रहेका नेताहरूले बोल्दा मर्यादामा बस्न सुझाए।
‘उम्मेदवार हो भने बाहिर अर्को मञ्चमा बोल्न सक्नुहुन्छ,’ उनले भने, ‘यो मञ्च उम्मेदवारको हैसियतका रूपमा बोल्न मर्यादित हुँदैन।’
चालिसे यतिमै रोकिएनन्।
प्रधानमन्त्री र केन्द्रीय सदस्यको कुरा गरेर मर्यादा मिच्न नहुनेमा उनले जोड दिइरहे।
‘प्रधानमन्त्रीको फोन लगाएर, केन्द्रीय सदस्यको कुरा गरेर कांग्रेसको आस्था मिच्न मिल्दैन,’ उनले भने।
कार्यक्रमका सभापति एवं प्रदेश अधिवेशन संयोजक श्रेष्ठले सभापतिका सबै आकांक्षीलाई २/२ मिनेट बोल्न समय दिएपछि कार्यकर्ता शान्त भए। नेताहरू पनि शान्त भए।
सभापतिका आकांक्षीहरू शुक्रराज शर्मा, थापा र चालिसेले पनि बोल्न पाए।
मञ्चमा बसेर यस्तो दृश्य हेरिरहेका बरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ नभएको जात्रा भएको टिप्पणी गरे।
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा,’ पौडेलले भने, ‘कहीँ नभएको अव्यवस्था कांग्रेस १४ औं महाधिवेशनमा।’
महामन्त्री कोइरालाले कांग्रेसलाई गुटविहीन बनाउनुपर्ने बताए।
‘कांग्रेसमा गुट घातकसिद्ध भएको छ,’ कोइरालाले भने, ‘अब कांग्रेसमा गुट समाप्त हुनुपर्छ।’
हटाइयो उम्मेदवारी शुल्क
कांग्रेस प्रदेश महाधिवेशन आयोजक समितिले आर्थिक व्यवस्थापन समितिको सुझावमा प्रदेश समितिको उम्मेदवारीको चर्को शुल्क राखेको थियो।
समितिले सहभागी रजिष्ट्रेसनका लागि २ हजार ५ सय, सभापति उम्मेदवारले ९१ हजार, उपसभापति उम्मेदवारले ६१ हजार, महामन्त्रीले ५१ हजार र सहमहामन्त्री उम्मेदवारले ४१ हजार उम्मेदवारी दस्तुर तोकेको थियो।
यस्तै, प्रदेश समिति सदस्यका लागि ३१ हजार उम्मेदवारी दर्ता शुल्क तोकेको थियो।
कांग्रेस केन्द्रले जारी गरेको निर्वाचन कार्यविधिभन्दा अत्यधिक शुल्क तोकिएपछि कांग्रेस नेता महादेव गुरूङले विरोध जनाए।
समाजवादी पार्टी कांग्रेसमा गरिब कार्यकर्ता उम्मेदवार हुनै नसक्ने अवस्था ल्याउन खोजेको भन्दै उनले आपत्ति जनाए।
उनको विरोधमा कार्यकर्ताले साथ दिएपछि उक्त उम्मेदवारी शुल्क हटाएको छ।
विरोधपश्चात कांग्रेस केन्द्रले तोकेको उम्मेदवारी शुल्कमात्र लिने गरी अतिरिक्त शुल्क हटाएको कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले जानकारी दिए।
उनका अनुसार कार्यकर्तालाई पोखरामा बास बस्नका लागि रजिष्ट्रेसन शुल्क २ हजार ५ सय भने लिएको छ।
उक्त रकमबाट पोखरामा बस्न खानको व्यवस्था मिलाएको केसीले जानकारी दिए।