पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारूढ नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा गुरूराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो। कांग्रेस नेताका अनुसार वरिष्ठ नेता रामचन्न्द्र पौडेल र नेता डा. शेखर कोइराला प्यानलबाट नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको छ ।
‘गुरूराज घिमिरेको नाममा सहमति भइसकेको छ,’ विराटनगर कांग्रेस सभापति दिपक चापागाइँले सेतोपाटीसँग भने, ‘अहिले नेतृत्वतहका नेताहरू बसेर अन्य पदमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ।’ संस्थापन इतर पक्षबाट कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिको दौडमा थिए।
दुई जना नेताको दाबी परेपछि सहमति जुटाउन बिहीबार बिहानैदेखि नेता महेश आचार्यको विराटनगरस्थित निवासमा बैठक चलेको थियो। त्यसक्रममा नेता घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको महानगर सभापति चापागाइँले बताए।
संस्थापन पक्षले प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारेको छ। नेता कृष्णप्रसाद सिटौलानिकट नेता थापानै देउवा–सिटौला प्यानलको उम्मेद्वार बन्ने टुंगो लागेको कांग्रेस नेताहरूले बताएका छन्। प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन्।
देउवा र सिटौला पक्षबीच वागमती र प्रदेश १ मा सभापति पद भागबण्डा गर्ने सहमति अनुसार प्रदेश १ सिटौलाको भागमा परेको हो।
उद्घाटन स्थगित
कांग्रेस प्रदेश १ को अधिवेशन उद्घाटन कसरी गर्ने भन्ने विषयमा सहमति नहुँदा भोलि बिहानसम्मलाई कार्यक्रम स्थगित भएको छ। निर्वाचन कार्यक्रम भने यथावत रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
विराटनगरस्थित विराट नर्सिङ होमछेउको खाली जग्गामा अधिवेशन आज उद्घाटन गर्ने कार्यक्रम थियो। उद्घाटन समारोहमा कार्यकर्ताको भीड बढे पनि कार्यक्रम भर्चुअल माध्यमबाट सभापति शेरबहादुर देउवाले गर्ने कि शेखर कोइरालाले गर्ने भन्ने विषयमा विवाद भएको स्रोतको भनाइ छ।
‘नेताहरूबीच कार्यक्रम उद्घाटन समारोह कसरी गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको जानकारीमा आएको छ,’ कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘एउटा पक्षले शेरबहादुर देउवाले भर्चुअल माध्यामबाट कार्यक्रम उद्घाटन गर्ने भनेका थिए भने अर्को पक्षले शेखर कोइराला वा कृष्ण सिटौलामार्फत नै कार्यक्रम उद्घाटन हुनुपर्ने अडान राखेपछि विवाद भयो।’
उद्घाटनको विषयमा दुवैपक्ष छलफलमा बसेपछि समय लम्बिएको ती नेताले बताए। यता विराटनगर महानगरपालिकाका कांग्रेस सभापति दीपक चापागाईंले भने प्रतिनिधिको नाम लिष्ट नआइपुगेकाले अधिवेशन उद्घाटन समारोह बिहानसम्म स्थगित भएको जानकारी दिए। ‘प्रतिनिधिको नाम लिष्ट नआइपुगेको र केही प्राविधिक तयारी नपुगेको कारण अधिवेशनको उद्घाटन समारोह स्थगित भएको हो,’ चापागाईँले भने, ‘अन्य कुनै कारण होइन, निर्वाचनका अरू कार्यक्रम यथावत छन्। भोलि बिहान ८ बजेदेखि कार्यक्रम उद्घाटन हुने र ९ बजेदेखि नै उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम छ।’