नेपाली कांग्रेसको प्रदेश २ को पहिलो अधिवेशन सुरू भएको छ।
जनकपुरस्थित तिरहुतीया गाछीमा सुरू भएको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, कल्याण गुरूङ लगायतका केन्द्रीय नेता सहभागी भएका छन्।
शुक्रबार बन्दसत्र तथा निर्वाचन लगायतको कार्यक्रम तय गरिएको छ। यद्यपि प्रदेश समितिमा सर्वसम्मतिको प्रयास समेत जारी रहेको नेताहरूले बताएका छन्।
‘सर्वसम्मतिका लागि केन्द्रीय नेताहरूले पहल गर्नुहुन्छ। खासै धेरै विवाद पनि देखिएको छैन। तै पनि गर्न सकिएन भने भोलि चुनाव हुन्छ,’ उपसभापतिका दाबेदार प्रफुलराज घिमिरेले भने।
प्रदेश सभापतिका लागि चार जना नेताले हालसम्म दाबी गरेका छन्।
कांग्रेस प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महोत्तरीका जिल्ला सभापति महेन्द्र कुमार राय, सप्तरीका जिल्ला सभापति दिनेश कुमार यादव र रौतहटका सभापति कृष्णा यादवले सभापतिका लागि दाबी गरेका हुन्।
उपसभापतिका लागि महाधिवेशन प्रतिनिधि घिमिरेले मात्र औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। बाँकी पदाधिकारीका लागि थुप्रै आकांक्षीहरू देखिए पनि खुलेर भने कुनै नेता आइसकेका छैनन्।