नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सार्ने भएको छ।
नेता कृष्णप्रसाद सिटौला निकट नेता थापा नै देउवा–सिटौला प्यानलको उम्मेदवार बन्ने टुंगो लागेको कांग्रेस नेताहरूले बताएका छन्।
प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर उम्मेदवार ‘डिक्लियर’ गरिसक्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्ष भने अझै अनिर्णित छ।
आज बिहानदेखि नेता महेश आचार्यको विराटनगरस्थित निवासमा जारी नेताहरूको बैठक अझै टुंगोमा पुगिसकेको छैन।
संस्थापनइतर समूहबाट राजीव कोइराला र गुरूराज घिमिरे सभापतिको दौडमा छन्।
संस्थापन पक्षबाट देउवा पक्षका अमृत अर्याल र सिटौला पक्षका तारामान गुरूङको नाम चर्चामा रहे पनि अन्ततः झापाका थापालाई अघि सार्ने तयारी भएको हो। ‘सभापतिमा लगभग टुंगो लागेकै हो,’ नेता थापाले भने ‘अब अन्य पदाधिकारीहरूका लागि छलफल जारी छ।’
देउवा र सिटौला पक्षबीच बागमती र प्रदेश १ मा सभापति पद भागबण्डा गर्ने सहमति अनुसार प्रदेश १ सिटौलाको भागमा परेको हो।