नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत वडादेखि जिल्लासम्म गरेका अधिवेशनमा अहिलेसम्म एक लाख ५० हजार जना निर्वाचित भएका छन्।
छ हजार सात सय ४३ वडा, सात सय ५३ स्थानीय तह, तीन सय ३० मध्ये तीन सय २२ प्रदेश सभा क्षेत्र र एक सय १० भन्दा बढी प्रतिनिधि सभा क्षेत्र तथा ६१ जिल्लामा गरी विभिन्न पदमा गरेर अहिलेसम्म एक लाख ५० हजार जना निर्वाचित भएको तथ्यांक कांग्रेसको सफ्टवेयरमा अपडेट भएको छ।
१६ जिल्लामा जिल्ला अधिवेशन बाँकी छ।
करिब १५ प्रतिनिधि सभा क्षेत्रमा निर्वाचन हुन बाँकी छ भने सर्लाहीका ८ प्रदेश सभा क्षेत्रमा निर्वाचितहरूको तथ्यांक निर्वाचन कतै जारी रहेको र कतै केन्द्रीय महाधिवेशनपछि हुने भएकोले अपडेट हुन बाँकी नै छ।
कांग्रेस प्रविधि समितिका संयोजक दिपेश विष्टका अनुसार एक लाख ५० हजार जना निर्वाचित भएकोमा धेरैजसो सर्वसम्मत भएका छन्।
‘वडादेखि विभिन्न तहमा गरेर एक लाख ४१ हजार आठ सय ४२ जना सर्वसम्मत चयन भएका छन्,’ उनले भने, ‘चुनावबाट प्रतिस्पर्धा गरेर ८ हजार चार सय ७४ जना निर्वाचित भएका छन्।’
यीमध्ये धेरै खसआर्य समुदायबाट निर्वाचित भएको तथ्यांकले देखाउँछ। खसआर्य ६८ हजार आठ सय ३२ जना निर्वाचित भएका छन्।
यस्तै थारू समुदायबाट पाँच हजार आठ सय २७ र अपांगता भएकाबाट एक हजार आठ सय ६४ जना निर्वाचित भएका छन्।
साथै आदिवासी जनजातीबाट ४१ हजार दुई सय ५६ जना निर्वाचित भएको विष्टले बताए।
महिला ४३ हजार तीन सय ५७ जना निर्वाचित भएका छन्।
कांग्रेसको सफ्टवेयरमा अहिलेसम्म एक हजार हाराहारीमा मात्रै महाधिवेशन प्रतिनिधिको संख्या अपडेट भएको छ।
कांग्रेसले संघीय संरचनामा पार्टी संरचना ढालेको थियो। विधानसमेत संशोधन गरेको थियो। वडादेखि नै समावेशी अनिवार्य गर्दा यति धेरै संख्यामा विभिन्न समुदायबाट कांग्रेसमा प्रतिनिधित्व भएको छ।