नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २७ गतेसम्म गर्ने महाधिवेशनका लागि प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा प्रचार समिति गठन गरेको छ।
केन्द्रीय समितिबाट प्रचार समिति संयोजकमा शर्मालाई तोकिएको थियो। हालै प्रचार समितिलाई कांग्रेसले पूर्णतासमेत दिएको छ।
गत कात्तिक २८ मा केन्द्रीय समितिबाट सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माको नेतृत्वमा प्रचार समिति गठन गरिएको थियो।
समितिका सदस्यहरूमा केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी, दिलिप राई रहेका छन्।
प्रचार समितिमा सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु पनि सदस्य रहने व्यवस्था छ।
साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरु प्रचार समिति सदस्य रहनेछन् भने नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु पनि सदस्य रहने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।
नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्षहरु, प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरुलाई पनि सदस्य राखिएको छ।
काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरु तथा प्रचारप्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालयका सदस्यहरूलाई प्रचार समितिमा सदस्य समावेश गरिएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए।