नेपाली काङ्ग्रेस बागमती प्रदेशको सभापति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले नुवाकोट काङ्ग्रेसका निवर्तमान सभापति केसीलाई बागमती प्रदेश सभापति पदको उम्मेदवार बनाउने निर्णय भएको हो। केसी काङ्ग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन्।
साथै पौडेल पक्षले महामन्त्री, सहमहामन्त्री लगायत पदमा पनि सहमतिमै आफ्नो पक्षबाट उम्मेदवार तय गरेर मनोनयन गर्ने भएको छ।
महामन्त्रीमा कन्चनचन्द्र बादे र रामचन्द्र अर्याललाई उठाउने तयारी पौडेल पक्षको छ।
काङ्ग्रेसले बिहीबार प्रदेश अधिवेशन उद्घाटन गर्दैछ भने शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय छ।
बागमती प्रदेश सभापति पदमा सभापति शेरबहादुर देउवानिकट इन्द्र बानियाँ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भिमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र साम्सद मतदाता हुन्छन्। काङ्ग्रेसले यही मङ्सिर १८ मा सबै प्रदेशमा अधिवेशन गर्ने भएको छ।