नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ।
प्रदेश अधिवेशन बिहीबार उद्घाटन गर्ने कार्यक्रम छ।
मंसिर १७ मा उम्मेदवारहरूको मनोनयन दर्ता र १८ गते अधिवेशन गर्ने चुनावी कार्यतालिका बनेको छ।
तर अहिलेसम्म कुन प्रदेशमा को सभापतिलगायतको उम्मेदवार हुने भन्ने टुंगो लागेको छैन।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू विगत तीन दिनदेखि प्रदेशका उम्मेदवार तय गर्न छलफल गरिरहेका छन्।
सोमबार र मंगलबार प्रकाशमान सिंह निवासमा छलफल गरेका उनीहरूले आज महामन्त्री शशांक कोइराला निवासमा छलफल गरेका थिए।
स्रोतका अनुसार प्रदेशमा उठ्ने सभापतिलगायतको उम्मेदवार तय पौडेल पक्षले छलफलबाटै टुंगोमा पुर्याउने बताउँदै नेताहरूलाई जिम्मेवारी पनि दिएको छ।
जसअनुसार प्रदेश नम्बर १ मा केन्द्रीय सदस्यहरू शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, सरिता प्रसाईं र गुरूराज घिमिरेले जिम्मेवारी पाएका छन्।
छलफलमा सहभागी एक नेताका अनुसार प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादवले जिम्मेवारी पाएका छन् भने बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र रामशरण महतले जिम्मेवारी पाएका छन्।
गण्डकी प्रदेशमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, दिलबहादुर घर्ती, कमला पन्त, जीवन परियारले जिम्मेवारी पाएका छन्।
लुम्बिनी प्रदेशमा चन्द्र भण्डारी र दीपक गिरीले जिम्मेवारी पाएका छन् भने कर्णालीमा हृदयराम थानीलाई र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको छ।
नेताहरूले प्रदेश सभापति, पदाधिकारी र सदस्यहरू सबै पक्षबाट समेटेर प्यानल बनाउनेछन्।
प्रदेशहरूमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवार अगाडि सार्ने भएका छन्।