पार्टी सभापतिमा दाबी पेश गरिरहेका नेपाली कांग्रेस नेता शेखर कोइरालाको गृह जिल्ला मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन्।
सभापतिमा निर्वाचित लिम्बु कोइरालाकै समर्थनमा उम्मेदवार बनेका हुन्। उनले संस्थापन पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई हराउँदै दोस्रो कार्यकालका लागि मोरङ सभापति पदमा बाजी मारे।
मंगलबार राति अबेर सार्वजनिक भएको मत परिणाम अनुसार लिम्बुले एक हजार नौ सय छ मत प्राप्त गर्दा गच्छदारले एक हजार चार सय २५ मत पाएका छन्। यसको औपचारिक घोषणा बाँकी छ।
आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनमध्ये कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ कांग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको हो।
कोइराला पक्षका लिम्बु, संस्थापनका गच्छदार र सिटौला पक्षबाट यदु विष्टबीचको प्रतिस्पर्धामा लिम्बू र गच्छदार मात्रै दोस्रो चरणमा प्रतिस्पर्धामा गएका थिए।
पहिलो चरणको निर्वाचनमा लिम्बुले एक हजार पाँचसय ४४ मत पाएका थिए। गच्छदारले एक हजार ए सय ६६ र यदुकुमार विष्टले पाँच सय ६३ मत पाएका थिए।
दोस्रो चरणको मतदानअघि मोरङ कांग्रेसको समिकरणमा फेरबदल देखिएको थियो ।
संस्थापन पक्षका उम्मेद्वारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने घोषणा गरेपछि मोरङमा आफू बलियो बनेको प्रचार देउवा पक्षले गरेको थियो। कोइरालालाई जिल्लामै कमजोर बनाउने लक्ष्यसहित देउवा-सिटौला गठबन्धन बने पनि उनीहरू सफल हुन सकेनन्।
आफू बलियो भएको देउवा पक्षको दाबीलाई गलत सावित गर्दै संस्थापनइतरका लिम्बुले चुनावी जीत हात पारेका छन्।
लिम्बुलाई शेखर कोइरालाको समर्थन थियो भने गच्छदारलाई संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा)को।सभापतिमा निर्वाचित लिम्बुलाई नेता महेश आचार्य र रक्षामन्त्री मिनेन्द्र रिजालको पनि समर्थन थियो।
केन्द्रमा बनेको शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाबीचको नयाँ समिकरण मोरङमा पनि लागू भएको थियो।
मोरङ कांग्रेसको चुनावकै सिलसिलामा नेता सिटौला दुई दिन विराटनगरमा बसेर देउवा पक्षसँग मिलेका थिए।
उनकै पक्षका भनेर चर्चा हुँदै आएका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सोमबारबाट आफूले देउवा पक्षका उम्मेद्वारलाई सघाउने घोषणा गरेका थिए।
सभापतिमा लिम्बुले जितेपछि कोइराला पक्षका कार्यकर्ताले शेखर कोइरालाको पक्षमा नाराबाजी गरिरहेका छन्।