नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।
आज ललितपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका राणाले चुनाव लडेरै केन्द्रीय सदस्य हुन चाहेको बताए।
‘म यसपालि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु,’ उनले भने, ‘मागेर होइन चुनाव जितेरै केन्द्रीय समितिमा काम गर्न चाहन्छु।’
कांग्रेसमा केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था पनि छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन्। राणाले मनोनित केन्द्रीय सदस्यभन्दा पनि निर्वाचन जितेरै केन्द्रीय सदस्य हुने बताएका छन्।
राणा १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उठेका थिए तर पराजित भए। त्यसबेला खुला केन्द्रीय सदस्य २५ जना मात्रै रहने व्यवस्था थियो।
यसपालि कांग्रेसले खुला केन्द्रीय सदस्य संख्या वृद्धि गर्दै ३५ पुर्याएको छ।
राणाले क्रियाशील सदस्यतामा देखिने विवाद समाधान गर्नका लागि महाधिवेशन हुनुभन्दा दुई वर्ष अगाडि नै क्रियाशील सदस्यता टुंगो लगाउन सके यो समस्या समाधान हुने पनि तर्क गरेका छन्।
राणा पूर्वसांसद र नेपाल तरूण दलका पूर्वअध्यक्ष पनि हुन्। साथै उनले पार्टीमा धेरै तहमा र धेरै पदहरूमा निर्वाचन हुने विधानको व्यवस्था रहेकोले पनि गुटको प्रतिस्पर्धा बढिरहेको टिप्पणी गरेका छन्।
राणा सभापति शेरबहादुर देउवानिकट छन्। उनी देउवा समूहबाटै केन्द्रीय सदस्यमा उठ्ने तयारीमा छन्।