नेपाली कांग्रेसका महासमिति सदस्य नैनसिंह महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताए।
कांग्रेसले यही मंसिर २४ गतेदेखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।
‘यसपालि म केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु,’ उनले भने, ‘म कुनै पनि पदमा दोहोरिएर बस्दिनँ।’
उनले १४ एजेन्डासमेत अगाडि सार्दै उम्मेदवारी घोषणा गरेका थिए।
जसअनुसार एक व्यक्ति एक पद दुईपटकमात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यत वितरण, सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क स्थापना, बिपी विचारको समय सापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता, रूपान्तरणका लागि युवा कांग्रेसको स्थापनालायत एजेन्डा उनले सार्वजनिक गरेका थिए।
नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशनमै, लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन, योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान, नि:शुल्क स्वास्थ्य तथा शिक्षाका, सर्वसुलभ यातायात र सञ्चार तथा गुणस्तरीय जीवनका आधार, लगानी मैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार, विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान, कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशीता तथा राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति हुनुपर्नेजस्ता एजेन्डा उनले अघि सारेका छन्।
महर नेविसंघका पूर्वअध्यक्ष हुन्। उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि पनि छन्।