पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ कांग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान हुँदैछ। दोस्रो चरणको मतदानअघि मोरङ कांग्रेसको समीकरणमा फेरबदल देखिएको छ।
संस्थापन पक्षका उम्मेदवारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने निश्चित भएपछि संस्थापनइतर पक्ष झस्केको छ। यद्यपि, चुनावी नतिजामा त्यसले कुनै असर नगर्ने सो पक्षको दाबी छ।
सोमबार बिहान सकिएको मतगणना अनुसार सभापतिमा डिकबहादुर लिम्बुले १ हजार ५४४, दिलीप गच्छदारले १ हजार १५९ र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरे। जसमा १४६ मत बदर भएको थियो। अब दोस्रो चरणको निर्वाचनमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार लिम्बु र गच्छदारबीच मात्र प्रतिस्पर्धा हुनेछ।
लिम्बुलाई डा.शेखर कोइरालाको समर्थन छ भने गच्छदारलाई संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा)को समर्थन छ। अब संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौला समूह पनि मिसिएको छ।
मोरङ कांग्रेसको चुनावकै सिलसिलामा नेता सिटौला दुई दिनदेखि विराटनगरमा छन्। उनकै पक्षका भनेर चर्चा हुँदै आएका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सोमबारबाट आफूलाई खुलाउँदै औपचारिक रुपमा देउवा पक्षका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन्।
महाधिवेशन प्रतिनिधि छानिने बेलैमा पनि मेयर पराजुली डा. कोइरालाको टिममा थिएनन्। यद्यपि, महानगरको प्रमुख पदको टिकट दिलाउने बेलामा कोइरालाले गरेको सहयोगका कारण पराजुली कोइरालाको विपक्षमा खुलेका थिएनन्। तर, सोमबार कांग्रेसको एक कार्यक्रममा जिल्ला सभापतिमा दिलीप गच्छदारलाई सघाउने खुला घोषणा गरेका छन्।
‘पराजुलीले अधिवेशनको सुरूदेखि नै देउवा पक्षका तर्फबाट गतिविधि गरेका थिए तर कोइरालाको विपक्षमा खुल्न सकेका थिएनन्,’ मोरङ कांग्रेसका एक नेताले भने, ‘सोमबारदेखि उनी खुलेरै देउवा पक्षको उम्मेदवारको पक्षमा उभिए।’
कांग्रेस स्रोतका अनुसार कोइराला निवासमा विभिन्न चरणको आन्तरिक बैठकमा मेयर पराजुलीले साथ दिने आँकलन कोइरालाले गरेका थिए। ‘तर, केन्द्रमा देउवा-सिटौला समूह बन्ने निश्चित भएपछि त्यसको प्रभाव मोरङमा पनि देखियो,’ ती नेताले भने, ‘तर, यसले परिणाम उल्ट्याउने तहको प्रभाव नराख्ला भन्ने हाम्रो आँकलन छ।’
जिल्लामा पुनः निर्वाचन प्रक्रियामा यदु विष्टले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई सर्मथन गर्ने घोषणा गरेका छन्। उनले आफू पार्टीलाई विधिमा चलाउनका लागि उम्मेदवार बनेको भन्दै त्यसैका लागि अब गच्छदारलाई समर्थन गर्ने बताए। विष्टले आफ्नो समूह फरक भए पनि विचारका आधारमा गच्छदारलाई सर्मथन गरेको बताएका छन्। गच्छदारलाई राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझी, केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिका मेयर पराजुली, सुन्दरहरैचाका मेयर शिव ढकाल लगायतले समर्थन गरेका छन्।
मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन पक्षबाट सभापति गच्छदार, उप-सभापतिमा गोपालबहादुर थापा र सुवोधकुमार सिंह, सचिवमा अर्जुन निरौला र शिवप्रसाद ढकाल, सह–सचिवमा अशोक रिजाल र सुभाष भण्डारी चुनावी मैदानमा छन्।
यस्तै, संस्थापनइतर शेखर कोइरालानिकट समूहबाट सभापतिमा डिकबहादुर लिम्बु, उपसभापतिमा नागेश कोइराला र भक्तिनाथ माझी, सचिवमा मोदराज घिमिरे र ललितकुमार श्रेष्ठ, सह-सचिवमा भुवनेश्वर मण्डललगायतको प्यानलले भाग लिएको छ।
कांग्रेसको जिल्ला सभापति चयन गर्न ३ हजार ४५५ क्षेत्रीय प्रतिनिधिहरू छन्। पहिलो चरणमा ३ हजार ४ सय १२ जनाले मतदान गरेका थिए। निर्वाचित हुनको लागि सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्थ्यो।
कसैले पनि त्यति मत प्राप्त नगरेकोले अर्को चरणको निर्वाचन हुने भएको हो। मंगलबार जिल्ला सभापतिको पुनः निर्वाचन गर्ने र त्यसपछि मात्र आइतबार नै मतदान भएका पदाधिकारी तथा सदस्यहरूको मतगणना गर्ने निर्वाचन अधिकृत केदारबहादुर कार्कीले बताए।
मोरङ कांग्रेसमा एक सभापति, २ जना उपसभापति, २ जना सचिव र ५४ जना सदस्यसहित जम्मा ५९ पदका लागि निर्वाचन भएको थियो। विजयी क्षेत्रीय प्रतिनिधिहरूमा मोरङमा ६० प्रतिशतभन्दा बढी संस्थापनइतर पक्षका रहेको मानिएको छ।
तर, विष्टको उम्मेदवारीले लिम्बुलाई विजयी बन्न रोकेको हो। विष्ट र सिटौला पक्षका नेताहरूले गच्छदारलाई समर्थन गरेपछि संस्थापन पक्षले आफू थप बलियो बनेको दाबी गरिरहेको छ भने संस्थापनइतर समूहले त्यसले कुनै फरक नपार्ने बताइरहेको छ।
विष्ट देउवा समूहमा मिले पनि उनलाई संस्थापनइतरको मत गएको छ। त्यो मत बाँडिने र त्यसले विजय सुनिश्चत हुने संस्थापनइतरको विश्वास छ।