नेपाली कांग्रेस डडेल्धुराको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले सदर गरिदिएको छ।
‘डडेल्धुराका निर्वाचन अधिकृतको सिफारिस र निष्कर्ष मिलेकै देखिएकोले यस सम्बन्धमा थप निर्णय गरिरहनु परेन’ भन्दै निर्वाचन समितिले अधिवेशनलाई सदर गरिदिएको छ।
यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेज गरी फेरि अधिवेशन गर्न माग गर्दै निवेदन दिएका थिए।
ती निवेदनमाथि सुनुवाइ गर्दै आज निर्वाचन समितिले डडेल्धुरा अधिवेशनलाई सदर गर्ने निर्णय गरेको छ। उक्त निर्णयमा निर्वाचन समितिका एक जना सदस्य, सीताराम केसीले मात्रै फरक मत राखेका छन्।
डडेल्धुरामा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगले अधिवेशन गरेको आरोप थियो।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले डडेल्धुरा अधिवेशनलाई मान्यता नदिन आग्रह गरिरहेका थिए।
फेरि अधिवेशन गर्न माग गर्दै मल्ललगायत नेता सानेपामा रिले अनशन पनि बसेका थिए।
कर्ण मल्ल पक्षको विरोध:
निर्वाचन समितिले गरेको निर्णयविरूद्ध आन्दोलनमा जाने डडेल्धुरा जिल्लाका यसअघिका सभापति कर्णबहादुर मल्लले बताएका छन्।
‘पार्टीको केन्द्रीय सभापतिको जिल्लामा निर्वाचन समितिले अवैध अधिवेशनलाई वैध भन्नुभएको छ। एक जना सदस्यले अवैध भन्नुभएको छ,’ उनले भने, ‘कांग्रेसको आन्तरिक लोकतन्त्र मृत्युशय्यामा गइसक्यो। हामी अब कसरी अगाडि बढ्ने साथीहरूसँग छलफल गरी भोलि सार्वजनिक गर्छौं।’