नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसेको छ।
बैठक विशेषगरी प्रदेश अधिवेशनमा केन्द्रित छ।
कांग्रेसले यही मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन गर्दैछ। उम्मेदवारको मनोनयन मंसिर १७ मा गर्नुपर्नेछ, त्यसपछि निर्वाचनका प्रक्रिया सुरू हुनेछन्।
यसअघि मंसिर १५ मै मनोनयन दर्ता गर्नुपर्ने थियो। यो कार्यतालिका हेरफेर गरिएको छ।
बागमती प्रदेशभित्र रहेका केन्द्रीय सदस्यहरूलाई पौडेलले छलफलका लागि बोलाएका हुन्। बागमती प्रदेश सभापति पदका लागि कसले उम्मेदवारी दिने भन्नेमा छलफल केन्द्रित रहेको एक नेताले बताए।
पौडेल पक्षबाट बागमती प्रदेश सभापतिमा नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, धादिङका निवर्तमान सभापति रमेश धमला, काठमाडौं महानगरका मेयरका प्रत्यासी राजुराज जोशीलगायत आकांक्षी छन्।
कसलाई उम्मेदवार बनाउने भन्नेमा पौडेलसहित नेताहरू सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य गगन थापालगायत नेता छलफलमा छन्।
बागमती प्रदेश सभापति पदका लागि सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य मोहन बस्नेत, ईन्द्र बानियाँलगायत आकांक्षी छन्।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधानले बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।