धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस अधिवेशन सकिएको छ। यो उपसभापति विमलेन्द्र निधिको निर्वाचन क्षेत्र हो। यहाँ सभापतिसहित २२ प्रतिनिधि सर्वसम्मतले चयन भएका छन्।
कतिपयले हार्छु भन्ने डरले निधिले चुनाव हुन नदिएको भन्दै विरोध समेत गरेका छन्।
विरोधको अर्को कारण सर्वसम्मतबाट सभापति बनेका श्याम निधि उनका भाइ हुन्। २२ प्रतिनिधिमध्ये निधि पत्नि अनामिका पनि छानिएकी छन्।
उपसभापति निधिले आफ्ना भाइ र पत्नी दुवै जनालाई प्रतिनिधि बनाएको भन्दै अन्य आकांक्षीहरूले विरोध गरेका छन्। निधिले आफ्नै परिवारलाई पद बाँडेको र हार्छु भनेर चुनाव गर्न डराएको उनीहरूको तर्क छ।
‘उहाँका नातागोताबाहेक अरू मान्छे योग्य होइनन र? सहमतिको नाउँमा लोकतन्त्रको हत्या भएको छ। यो निर्णय हामी मान्दैनौं,’ नेता प्रवेश चौधरीले भने, ‘निधिजीलाई आफ्ना भजनमण्डली हार्छ बेइज्जत हुन्छ भन्ने थाहा थियो त्यसैले चुनाव हुन दिनु भएन। होइन भने चुनावबाट किन डराउनुपर्यो? उहाँले गैरलोकतान्त्रिक स्वेच्छारी र गैर-प्रजातान्त्रिक तरिकाले प्रतिनिधि चयन गर्नुभयो।’
सहमति जुट्न नसक्दा धनुषाका चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा अझै प्रतिनिधि छनौट हुन सकेका छैनन्।