नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाण्डेले दुई कार्यकाल केन्द्रीय सदस्य रहेर काम गरेकोले अब पार्टी पदाधिकारीमा रहेर काम गर्ने सोचका साथ सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए।
‘सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा उम्मेदवारी दिन्छु,’ पाण्डेले भने। उनी कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पाण्डे संस्थापनइतर समूहसँग निकट छन्। उनले संस्थापनइतर समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवारी रहने र त्यसबारे छलफल भइरहेको पनि बताए।
पार्टीले ‘सहि विचार, विधानको अक्षरस पालना, नियमित बैठक र कार्यालय तथा आर्थिकलगायत व्यवस्थापन’ मा ध्यान दिएर काम गर्ने हो भने संगठन सुदृढीकरणमा टेवा पुग्ने उनको भनाइ छ।
साथै उनले एक व्यक्ति एक पद र एक कार्यकालको व्यवस्था हुनुपर्नेमा पनि जोड दिएका छन्।
‘म यसपटक सहमहामन्त्री पदमा उठ्छु। जिते पनि पराजित भए पनि अर्कोपटक यो पदमा उठ्दिनँ। महामन्त्री वा उपसभापति पदमा उठौंला,’ उनले भने, ‘बरू एक कार्यकाल बाहिरै बसेर योग्यता वृद्धि गर्नेलगायत काम गर्न पनि सकिन्छ।’
बाजुराका पाण्डे दुई वर्ष राष्ट्रिय सभा सदस्य रहेर पनि काम गरेका थिए। उनी दुई कार्यकाल नेविसंघ उपाध्यक्ष पनि रहेका थिए। नेविसंघ अध्यक्षमा पराजित भएदेखि नै उनी पार्टीमा क्रियाशील छन्।
उनले पार्टीमा सबैको सहयोग लिएर आफू अगाडि बढ्ने बताएका छन्। ‘आफ्नो समूहको मतले मात्रै जित्न गाह्रो हुन्छ। सबैसँग मिलेर अगाडि बढ्ने हो,’ उनले भने। उनले पार्टीमा पात्रभन्दा पनि पद्धती प्रधान हुनुपर्नेमा जोड दिएका छन्।