मोरङ कांग्रेसमा सभापतिका लागि पुन: मतदान हुने भएको छ।
आइतबार साँझ भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो।
सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार पाँच सय ४४, यदु विष्टले पाँच सय ६३ र दिलीप गच्छदारले एक हजार १६६ मत ल्याएका छन्।
लिम्बू संस्थापन शेखर कोइराला पक्षधर हुन्। यसभन्दा अगाडि शेरबहादुर देउवाको प्यानलबाट सभापति जितेका लिम्बू अहिले पनि बलियो देखिएका छन्।
गच्छदार देउवा पक्षबाट उम्मेदवार बनेका हुन्। उनलाई केन्द्रीय सदस्य तथा मोरङ कांग्रेसकै पूर्वसभापति अमृत अर्यालको समर्थन छ।
अर्याल कोइराला परिवारको समर्थनमा मोरङ कांग्रेसमा सभापति भएका थिए। विष्ट पनि संस्थापन पक्षइतर नै मानिन्छन्। उनलाई केन्द्रीय सदस्य तथा रक्षामन्त्री मिनेन्द्र रिजालको समर्थन छ।
अब हुने दोस्रो चरणको निर्वाचनमा उनी निर्णायक देखिएका छन्। उनी कुन पक्षमा उभिनेबारे अहिले निर्णयमा पुगिसकेका छैनन्।
‘मेरो वैचारिक सामीप्यता कहाँ मिल्छ त्यतै समर्थन हुन्छ,’ विष्टले सेतोपाटीसँग भने।
आइतबार सम्पन्न निर्वाचनमा तीन हजार चार सय १४ मत खसेको थियो। जसमा एक सय ४७ मत बदर भएको थियो।
जिल्ला निर्वाचन समितिका अनुसार दोस्रो चरणका लागि मंगलबार तयारी गरिए पनि समय तय भइसकेको छैन।