नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रहेका उनी पौडेल पक्षबाट जिल्ला सभापतिको उम्मेदवार हुने अवस्था नदेखिएपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको सहयोगमा सभापति उठेका थिए।
आलेले ९५१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बैकुण्ठ न्यौपानेले ७८३ मत ल्याएका थिए। न्यौपाने कांग्रेस तनहुँका हालका सभापति र व्यास नगरपालिकाका मेयर हुन्।
सभापति निर्वाचित आलेलाई जिताउन देउवा पक्षीय तनहुँका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्लेलगायत लागेका थिए।
देउवा पक्षले तनहुँ जिल्ला कार्यसमितिमा एउटा पद बाहेक सबै पदमा प्यानल नै जिताउन सफल भएको कांग्रेस तनहुँले जनाएको छ।
जसको उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल विजयी भए। सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन्।
सहसचिव आले मात्र वरिष्ठ नेता पौडेल पक्षीय प्यानलबाट निर्वाचित भएका हुन्। बाँकी सबै देउवा पक्षका रहेका छन्।