नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्।
सभापति पदका चार प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका डाँगी सहमतिकै आधारमा सभापति निर्वाचित भएका हुन्।
शनिबार भएको अधिवेशनमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज दोस्रोचरणमा मतदान गर्ने तयारी थियो।
दोस्रो बढी मत ल्याएका भूपबहादुर डाँगीले शंकरलाई सभापति बनाउन लिखित सहमति दिएका थिए। उनले उम्मेदवारी पनि फिर्ता लिएपछि शंकरप्रसाद सभापति भएका हुन्।
कूल २१३७ मत खसेकोमा शंकरले सबै भन्दा धेरै ७७६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी भूपबहादुरले ४५६ मत प्राप्त गरेको हुँदा फेरि यी दुईका बीचमा आइतबार दोस्रो चरणको मतदानको तयारी भइरहेको थियो।
तर भूपबहादुरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शंकरलाई समर्थन गरेको हुँदा सहमतिमा जिल्ला सभापति निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।
भूपबहादुर दाङ क्षेत्र नम्बर २ का यसअघिका संघीय सभापति हुन्।
त्यस्तै सभापतिका अन्य दुई प्रतिस्पर्धीमध्ये नेविसंघका पूर्वजिल्ला अध्यक्ष जानकीलाल बस्नेतले ४७१ र पूर्वजिल्ला सचिव कमल किशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए।
जिल्ला सभापतिमा निर्वाचित डाँगी संस्थापन इतरका हुन्। अन्य तीन जना प्रतिस्पर्धी भने संस्थापन पक्षधर हुन्।