नेपाली कांग्रेस इलाम जिल्ला सभापति पदमा संस्थापन पक्षका डम्बरबहादुर खड्का विजयी भएका छन्।
उनले पौडेल-कोइराला पक्षका भेषराज आचार्यलाई १ सय ६० मतान्तरले पराजित गर्दै इलाम सभापतिमा जितेका हुन्।
खड्काले ९ सय ३५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन्।
१ हजार ७ सय ९५ मतदातामध्ये निर्वाचनमा १ हजार ७ सय ३२ मत खसेको थियो।
अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ। सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूह ४ पदमा विजयी बन्यो।
दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेदवार विजयी भएका छन्।
आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहाल ७ सय ७८ मतका साथ विजयी बने।
खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने।
दुई सचिव पदमा दुवै समूहबाट एक-एक जना विजयी बनेका छन्।
सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्गी ७ सय ९३ मतका साथ विजयी बनेका छन्।