नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत सुर्खेतको क्षेत्र नम्बर १ मा फेरि मतदान हुने भएको छ।
मंगलबार भएको प्रतिनिधि सभा १ को निर्वाचनबाट दलित प्रतिनिधि तोकिएकोभन्दा कम आएपछि आज फेरि मतदान हुन लागेको हो।
आजको मतदान दलिततर्फको कोटाबाट महाधिवेशन प्रतिनिधि चयन गरिने छ। अधिवेशनबाट दुई जना दलित महाधिवेशन प्रतिनिधि आउनुपर्नेमा एकजना मात्र आएका छन्।
निर्वाचन समितिको गल्तीका कारण आज फेरि मतदान गर्नुपरेको कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति झकबहादुर डाँगीले जानकारी दिए।
‘हाम्रो क्षेत्रमा दलित समुदाय धेरै भएकाले महाधिवेशन प्रतिनिधिको लागि पनि दुई जना आउने व्यवस्था गरिएको रहेछ, तर निर्वाचन समितिले एक जनामात्र छान्ने व्यवस्था गरिदियो,’ सभापति डाँगीले भने, ‘माथिबाट हामीलाई दुई जना प्रतिनिधि ल्याउनुपर्ने कारणसहित आदेश आएपछि यो कुरा थाहा भयो।’
सभापति डाँगीका अनुसार यसअघि सम्पन्न अधिवेशनमा लडेका उम्मेदवारहरूमध्येबाटै दुई जना दलित महाधिवेशन प्रतिनिधि चुनिनेछ।
यसअघि भएको अधिवेशनमा तीन जनाको उम्मेदवारी परेको थियो। उदे कामी, भीम विक र बागवीर दमाईको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी परेकोमा उदे कामीले संस्थापन पक्षबाट जितेका थिए।
आज यी तीनै जना उम्मेदवारहरूमध्येबाट मतदान गरी दुई जना छान्न लागिएको डाँगीले बताए।
‘उहाँहरूले त हामी मिलाउँछौं, निर्वाचित भइसकेकालाई मानेर अगाडि बढौं भन्नुभएको थियो,’ उनले भने, ‘तर त्यसो गर्न नमिल्ने रहेछ।’
उम्मेदवारी दिनका लागि नयाँ दरखास्त पनि खोल्न नमिल्ने व्यवस्था भएपछि अघिल्ला उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा हुने डाँगीले बताए।
क्षेत्र नम्बर १ मा पुनः मतदान हुने भएपछि सुर्खेतको जिल्ला अधिवेशन पनि सरेको छ।
शुक्रबार तोकिएको अधिवेशन शनिबारका लागि सरेको हो।
शुक्रबार सभापति तथा अन्य पदाधिकारीका लागि उम्मेदवारी दिने तयारी गरिएको थियो।
उक्त कार्य आज हुनेछ। आज उम्मेदवारीको टुंगो लागेपछि सम्भवतः भोलि (आइतबार) चुनाव हुने तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए।
सुर्खेतको जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि उम्मेदवार को बन्ने भन्ने टुंगो लागिसकेको छैन।
संस्थापनइतर समूहबाट भने सभापतिका लागि उम्मेदवार नै छैनन्।
यो समूहको जिल्लाबाट कोही पनि महाधिवेशन प्रतिनिधि नआएपछि सभापतिका लागि उम्मेदवार नभएको हो।
सभापतिभन्दा तलको पदाधिकारीका लागि भने संस्थापनइतर समूहले आफ्ना उम्मेदवार खडा गर्न सक्ने सम्भावना छ।
यदि संस्थापन समूहमा सभापतिको टुंगो लागेमा र अन्य पदमा संस्थानइतर समूहलाई पनि समावेश गर्नेगरी सकारात्मक छलफल गर्न सकेमा सुर्खेतको नेतृत्व सर्वसम्मत् हुने पनि सम्भावना छ।