भोलि मातातीर्थ औँसी या भनौँ आमाको मुख हेर्ने दिन। मलाई सधैँ यसको प्रतीक्षा गर्न मन लाग्छ। हुन त आमा बित्नु भएको पनि ५ वर्ष पुगिसक्यो तैपनि आजसम्म आफू अनाथ छु जस्तो लाग्दैन। कारण मेरी आमा सरहकी भाउजू। हरेक वर्षझैँ औँसीमा भेट्न जान मन थियो, तर यो वर्ष छुट्टी मिलाउन गाह्रो भयो। भाउजूलाई आउन नमिल्ने भयो भन्दा उहाँ खिन्न हुनुभयो। बिस्तरामा पल्टिए पनि आमा र भाउजूको झझल्को आइरह्यो।
सानो हुँदा मलाई ठूली भाउजू खासै मन पर्दैन थियो। आमा र भाउजूको सानोतिनो कुरामा मनमुटाब भइरहन्थ्यो। मेरो जेठो भदा (प्रकाश) मभन्दा ५ महिनाले मात्र कान्छो थियो। हामी सानोमा खुब चकचक गर्थ्यौँ। कहिलेकाहीँ भाउजूले हामी धेरै बदमासी गर्दा दुवैलाई पिट्नु हुन्थ्यो तर मलाई छुनासाथ आमाले भाउजूलाई बेसरी झम्टिनु हुन्थ्यो। प्रकाशलाई कुट्दा भने खासै कराउनु हुन्न थ्यो। अनि म त फुर्किनु स्वाभाविक नै भयो। त्यसमाथि तीन दाजुभाइकी एउटा बहिनी।
म सानो हुँदा आमा बिरामी पर्दा भाउजूले नै दूध खुवाएर सुताउनु हुन्थ्यो रे। त्यो कुरा आमा बिरामी भएर थला परेपछि मात्र उहाँले भन्नुभयो मलाई। सानो भदा (आकाश) भने हामीभन्दा ५ वर्ष कान्छो थियो। त्यसैले पनि उसको हामीसँग झगडा हुँदैन थियो।
१० कक्षासम्म म गाउँकै विद्यालयमा पढेँ। प्रकाश र म सँगै खेल्दै, पढ्दै हुर्कियौँ। त्यति बेलासम्म बुबा बितिसक्नु भएको थियो। घरमा राम्रो केटाको कुरा आयो। प्रकाशलाई क्याम्पस पढ्न काठमाडौँ पठाइयो। मलाई पनि सँगै पढ्न मन थियो। तर आमाले मेरो विवाह गर्नु उचित ठान्नु भयो। मैले कुरा काट्न सकिनँ।
प्रकाश र म दुवै काठमाडौँ आयौँ। फरक यति थियो कि ऊ पढ्न आयो, म कसैकी श्रीमती बनेर आएँ। विवाह गरेको केही समयमै म आमा भएँ। मलाई घर व्यवहारले थिच्यो, मेरो पढ्ने सपना अपुरै रह्यो। पहिले छोरी अनि छोरा, सासू, ससुरा, घरको काम त्यसमै रुमलिएँ म। आर्थिक भार, काठमाडौँको महँगी। छोराछोरी अलि हुर्काएर मैले सहकारीमा काम गर्न थालेँ। थोरै नै भए नि आफ्नो मेहनतको कमाइ परिवारमा सहयोग गर्न पाउँदा छुट्टै आत्मसन्तुष्टि हुँदो रहेछ।
जबसम्म आफूलाई पर्दैन तबसम्म अरूको पीडा बुझिन्न भन्थे, हो रहेछ। म आफैँ आमा, बुहारी, श्रीमती भएपछि बल्ल आफ्नो भाउजूको पीडा बुझेँ। मेरो भाउजू समाजको लागि दुई पटक जेठानी अनि दुई पटक सासू बनिन् तर उनको काँधको बोझ अझै उस्तै छ। बुढेसकालसम्म मेरो आमा रोगी भएर बाँच्नुभयो। भाउजूले सकेको स्याहार गर्नुभयो तर जस नदिई मेरी आमा बित्नुभयो। माइली र कान्छी भाउजू काठमाडौँ बस्नुहुन्छ, आमा हुँदा वर्षमा एक चोटि दसैँमा गाउँ पुग्नु हुन्थ्यो। अब त्यो पनि बन्द भयो। आज प्रकाश अमेरिका अनि आकाश क्यानडा बस्छ, विचरा बुढा दाइभाउजू अझै गाउँमा दुःख गर्दैछन्।
पोहोर साल औँसीमा माइत जाँदा भाउजू रोएको झलझली याद आयो। भाउजू भन्दै हुनुहुन्थ्यो, 'सरिता, तपाईं बेलाबेलामा आउनू है। मैले पाएका त माया मारेर गइहाले। मैले तपाईंलाई सधैँ आफ्नै छोरी सम्झेको छु। छोराहरू खासै फोन पनि गर्दैनन्। विदेश लैजाने त कुरै नगरौँ, नेपाल आउने पनि कुरा गर्दैनन्। नातिहरूको खुब याद आउँछ। आमाको मन न हो, कहिलेकाहीँ घुर्की लगाउँछु- यत्रो दुःख गरी पाएर हुर्काएँ, अहिले मतलब गर्दैनौ भनेर।
प्रकाशले सिधै भन्यो, हामीले पाउनु भनेर पाएको हो र? पाएपछि खान, लाउन, पढाउन त परिहाल्छ नि। विदेशमा यसै कत्ति तनाव हुन्छ, मलाई कचकच नगर्नुस्, फोन गरेर यस्तै मात्र कुरा गर्ने भए म फोन गर्दिनँ कहिले पनि।
यति भनेर फोन राखिदियो। मेरो मन कति रोयो मलाई मात्र थाहा छ।
जिन्दगीबाट बिरक्तिएर एक पटक आकाशसँग पनि त्यस्तै प्रसङ्गको कुरा भयो। उसले पनि दाजु जस्तै वचन लगायो- मलाई हुर्काउन, पढाउन, अनि विदेश पठाउन कति खर्च लाग्यो म तिर्दिन्छु रे। मलाई घरीघरी फोन गरेर कचकच गर्ने हैन।'
मेरा आँखाबाट आँसु नै रोकिएन। भाउजूको कुरा सुन्दा म आफै पनि रोएँ। त्यही दिन अठोट गरेँ कि दसैँको दिन आउन सकिएन भने पनि औँसीको दिन पक्कै मेरी आमारूपी भाउजूलाई भेट्न आउँछु।
दिउँसो छोरी ममतासँग मेरो भनाभन भयो। मैले उसलाई भान्छाको एउटा काम लगाएँ। उसले मलाई मद्दत नगरी ठूलो स्वरमा कराउन थाली। म पनि कराएँ।
'म मात्र नोकर त हैन नि यो घरको, खान परेपछि आफूले सक्ने काम सबैले गर्नुपर्छ।'
यतिकैमा बुढा कराउन थाले, छोरीलाई धेरै नकरा भनेर। त्यहाँ पनि मेरै गल्ती भयो। बाबुको आड भरोसा पाएपछि ममता झन् बम्किन थाली, 'तपाईंलाई भनेर झन् भोलिलाई कपडा लेराइदिएको छु, यस्तो कचकच गर्ने भए दिन्नँ।'
सनक्क मेरो कन्सिरी तातेर आयो। सधैँ मेरो अङ्ग्रेजी कमजोर हुँदा मजाक बनाएको, मेरो मोटोपन अनि पहिरनमा आफ्नै सन्तानले मजाक बनाएको पल याद आयो। मेरो धैर्यताको बाँध टुट्यो, म आक्रोशित हुँदै भनेँ, 'तेरो लुगा नि चाहिँदैन, भोलि औँसीको दिन मेरो मुख हेर्न नि पर्दैन। यत्रो ठूली भएर पनि तेरा मोजा र कट्टु समेत धुनु परेछ, बाबाले र भाइले मेरो पीडा नबुझे नि तैँले बुझ्लिस् भनेको, तँ पनि उस्तै रहेछस्। आजबाट मनबाट सम्मान आउँछ भने आमा भन्नू, नत्र मसँग बोल्न पर्दैन।'
'हामी आमालाई त सित्तैमा पाएको जस्तो। सकेसम्म दलाउने, घुर्क्याउने, थर्काउने अनि वर्षको एक पटक आमाको मुख हेर्ने दिन केही मिठो खाना, कपडा दिने अनि फोन वा सामाजिक सञ्जालमा फोटो हालेर तारिफ गर्ने। तिमीहरूको आवश्यकताअनुसार खेलाउने कठपुतली हो हामी?'
अचानक भाउजूको वाक्य पनि सम्झिएँ। प्रकाशलाई फोन गरेँ अनि बेस्सरी गाली गरेँ।
'आज उमेर र पैसा छ भन्दैमा घमन्ड नगर्, बाउआमाले दुःख गरेर, गाँस काटेर तँलाई त्यहाँसम्म पुराएका हुन्। सक्छस् भने सम्मान दे, नसके अपमान गर्ने अनि पीडा दिने अधिकार तँलाई छैन। अबबाट भाउजूलाई केही अपशब्द भन्नु अगाडि मलाई सम्झेलास्।'
मेरो रिस अझै मरेन अनि आकाशलाई फोन गरेँ।
'तिमीहरू जस्तो छोरा पाउने आमा जस्ता अभागी कोही छैनन्। पैसाले सब किन्न सक्छु भनिस् रे हैन भाउजूसँग, खुब पैसाको मात लागेको छ! सक्छस् भने नौ-नौ महिना पेटमा राख्दाको भाडा तिर्, प्रसव पीडाको मूल्य तिर्, २-३ वर्षसम्म दूधका लाम्टा टटाउने गरी चुसेको अनि ती अनिधा रात फिर्ता गर्। तिमीहरूलाई जन्माउँदा, पढाउँदा र हुर्काउँदा त्यसै ओइलाएको उमेर र रहर फिर्ता गर्। औँसीको दिन एउटा फोन गरेर, सामाजिक सञ्जालमा फोटो हालेर के नै हुन्छ र? आमाको मन भित्र-भित्र रुवाएर अरूको अगाडि असल सन्तानको खास्टो ओढेर कत्ति नै राम्रो गरेँ भन्ठान्छौ तिमीहरू!'
आकाश अक्क न बक्क भयो। उसको केही प्रतिक्रिया नसुनी फोन राखिदिएँ।
मैले सही गरेँ या गलत मलाई थाहा छैन, तर आज मन हल्का भयो। मानौँ वर्षौँदेखि थिचिएको मनको ढुङ्गो मैले फालिदिएँ। मेरी छोरी अनि भदाहरूसँगको सम्बन्ध कस्तो होला आगामी दिनमा मलाई थाहा छैन। तर आफूले बोलेकोमा कुनै आत्मग्लानि छैन।
भोलि बिहान अफिस गएर कुनै बहाना गरेर भाउजूलाई भेट्न जान्छु। बाँचुन्जेल औँसीमा भाउजूलाई भेट्छु अनि परिवार र सन्तानप्रतिको कर्तव्य पूरा गर्नेछु, तर आफ्नो आत्मसम्मान जिउँदै राखेर मात्र। यही सोच्दा सोच्दै निदाएछु।