टेलिभिजनमा समाचार हेर्दै थिएँ। एउटा रिपोर्ट बज्न थाल्यो।
नेपाल यति चाँडै कसरी यति राम्रो भयो भन्ने विषयमा अन्तर्राष्ट्रिय एउटा सञ्चार माध्यमले धेरै वटा गाउँमा पुगेर तयार पारेको रिपोर्ट रहेछ।
यहाँ त्यो रिपोर्टको मुख्य विषय यहाँ प्रस्तुत छ।
गोकुल गाउँपालिकामा अवस्थित गंगा माध्यमिक विद्यालयमा बिहानको घन्टी बज्छ। भित्तामा राखिएको घडीले बिहानको १० बजेको देखाएको छ। विद्यालयको मूल भवनअगाडिको चौरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरू प्रार्थना सभाका लागि लामबद्ध हुन्छन्। सदाझैं राष्ट्रिय गान बज्छ अनि सामान्य पिटी हुन्छ। त्यसपछि विद्यार्थीहरू लामबद्ध भएरै आआफ्नो कक्षामा जान्छन्।
शरीर सिधा बनाएर बेञ्चमा बस्छन्। हरेक शिक्षकले आआफ्ना कक्षामा केही बेर 'नमस्कार प्राणायाम' गराउँछन्। विद्यार्थीहरूसँगै शिक्षकले पनि गर्छन्।
त्यसपछि करिब तीन मिनेट लामो र गहिरो सास लिने क्रिया चल्छ।
अर्को चरणमा करिब फेरि तीन मिनेटसम्म सास लिँदा मनमनै 'म' र सास छोड्दा 'खुसी छु' भन्ने क्रिया शिक्षक र विद्यार्थी दुबैले एकसाथ गर्छन्।
अगाडि रहेका शिक्षकबाट मधुर स्वरमा निर्देशन हुन्छ। विद्यार्थीहरू अनुशासित ढंगले लामो र गहिरो सास लिने अभ्यास गर्छन्। सास लिँदा 'म' र सास छोड्दा 'स्वस्थ छु' भन्ने भाव जोड्छन्।
यसपछि लामो र गहिरो सास लिने क्रमलाई निरन्तरता दिँदै सास लिँदा 'म' र सास छोड्दा 'शान्त छु' भन्ने भाव जोड्छन्। विद्यार्थी र शिक्षकले एकसाथ ध्यान विधिसहित प्राणायाम गर्दैगर्दा कक्षामा शान्ति छाउँछ।
त्यसपछि अर्को तीन मिनेट शान्त भएर सहज तरिकाले बस्छन्। सामान्य सासमा शिक्षक र विद्यार्थी दुबैले आँखा बन्द गर्छन् र बिस्तारै दुबै हत्केला एक आपसमा घर्षण गराउँछन्। घर्षणबाट उत्पन्न तापले आँखा हलुका गरी सेक्छन् अनि मुस्कुराउँदै आँखा खोल्छन्।
सबै कक्षामा शिक्षक र विद्यार्थीहरू यस्तै क्रिया गर्छन्।
टेलिभिजनमा सबै कक्षा कोठाको यस्तो दृश्य मिलाएर देखाउँदा त्यहाँ सयौं बुद्धहरू एकसाथ बसिरहेका छन् जस्तो लाग्थ्यो। त्यसपछि सबै कक्षामा पढाइ सुरू हुन्छ। शिक्षकहरूले यसरी पढाइरहेका छन्; मानौं, उनीहरू आफूलाई सबैभन्दा मनपर्ने खेल खेल्दै छन्। विद्यार्थीको उत्साह पनि उस्तै छ, कक्षामा पढ्दै गरेका होइन; मानौं, गोठाला जाँदा सबै साथी भेला भएर लुकामारी वा हामफाली खेल्दै छन्।
विद्यार्थीहरूमा कक्षाको निर्धारित समय मिलिक्कै बितेर कति छिटो घन्टी लाग्यो भन्ने आभास भएजस्तो भाव देखिन्थ्यो।
त्यसपछि पाँच मिनेटको ब्रेक भयो। विद्यार्थीहरू ठेलमठेल नगरी लामबद्ध भएर निस्किन्छन्। ब्रेकपछि कक्षामा प्रवेश गरेर गणित पढाइका लागि उत्साहका साथ तयार हुन्छन्। शिक्षक कक्षामा प्रवेश गर्दा आसनबाट उठेर शिर झुकाउँदै अभिवादन गर्छन्।
शिक्षक विद्यार्थीहरूका सामुन्ने मायालु भावमा उभिन्छन्। लगत्तै छोटो मधुर 'जीवन संगीत' बज्छ।
यस संगीतको शब्द र भावले जुन सूत्रले सृष्टि समृद्ध छ त्यही सूत्रले मानव समृद्ध हुन्छ भन्ने सन्देश दिन्छ। संगीतले प्रकृतिमा सृष्टिको भाव भएझैं हामी मानिसमा पनि दान भाव हुनुपर्छ भन्छ।
विद्यार्थीहरू त्यो संगीतमा आनन्दित देखिन्छन्। सयौं मीरा वाईहरू भक्तिले भरिएर नृत्य गरिरहेको जस्तो दृश्य देखिन्छ।
त्यसपछि शिक्षकले पाठ सुरू गर्छन्। विद्यार्थीहरू खुसी देखिन्छन्।
टेलिभिजनको दृश्यमा विद्यालय भवनको बाहिरी भित्तामा राखिएको भित्तेघडीमा पौने चार बजेको देखिन्छ। सबै कक्षामा अन्तिम घन्टीको पढाइ सकिएको छ।
पाँच मिनेटको ब्रेक लिएर सबै विद्यार्थी फेरि आआफ्नो कक्षामा प्रवेश गर्छन्। शरीर सिधा पारेर बेञ्चमा बस्छन्। शिक्षक अगाडिको कुर्सीमा बस्छन्।
बिस्तारै बिहान गरेजस्तै 'नमस्कार प्राणायाम', 'बीज प्राणायाम' र 'धारणा ध्यान' हुन्छ। अन्त्यमा पाँच मिनेट मौन रहेर ध्यान गर्छन्।
पृष्ठभूमिमा मधुर स्वरमा संगीत बज्छ– मभित्र बढिरहेको प्रेम, शान्ति, स्वास्थ्य र आनन्दबाट सबैतिर खुसी र उमंग फैलिँदै छ; मेरो देश दृश्यमा मात्रै होइन भावमा पनि सुन्दर बन्दै छ, साँच्चै गौतम बुद्धको देश बनेको छ...।
अन्तिममा शिक्षकले गहिरो सास लिँदै–छाड्दै गर्न र आफूमा भएको अनुभूति याद गर्न निर्देश गर्छन्। दुबै हत्केला एकआपसमा घर्षण गराएर त्यसको तापले आँखा सेक्न र मुस्कुराउँदै आँखा खोल्न निर्देश गर्छन्।
उपर्युक्त क्रिया सकिएपछि विद्यार्थीहरू एकअर्कालाई हेर्दै खुसीले मुस्कुराउँछन्, धन्यवाद भन्छन्। तालीले एकअर्कालाई बधाइ दिन्छन्। अनुशासित तरिकारले लामबद्ध भएर कक्षाबाट निस्किन्छन् र रमाउँदै उत्साहका साथ घरतिर लाग्छन्।
बाटोमा पनि साथीहरू आआफ्नो रूचि, स्वभाव, लक्ष्य, आफ्नो सकारात्मक पक्ष र सुधार गर्नुपर्न आनीबानीबारे गफ गर्दै घर पुग्छन्।
घरमा हजुरबुबाआमा, बुबाआमा, दाजुदिदी, भाइबहिनी वा अरू जो भए पनि हाँस्दै बोलेर सहज बन्छन्। हातगोडा धोएर एक छिन काम सघाउँछन्।
त्यसपछि पढाइमा बस्छन्। गृहकार्य गर्छन्। दिउँसो पढेको पाठ दोहोर्याउँछन्।
एक चरणको पढाइ पूरा गर्छन्। भान्सामा कुनै काम भए सघाउँछन्। खाना खानुअघिको समयमा पुरानो समयको शिक्षा प्रणाली; आर्थिक, सामाजिक र राजनीतिक अवस्था, महिलाको अवस्था लगायत विषयमा कुराकानी गर्छन्।
यी विद्यार्थीहरू प्रकृति प्रदत्त मानवीय गुण चिनेर सोहीअनुसार जीवन बाँच्दा जात, धर्म, वर्ग र लिंगको भेद हुँदो रहेनछ भन्ने थाहा पाउँछन्। सबैको भूमिकाको कदर र अस्तित्वको सम्मान गर्न जान्दछन्। यति सरल मानवजीवन हामीले अनेक कित्ताकाट गरेर पो जटिल बनाएका रहेछौं भन्ने पनि थाहा पाउँछन्।
यसबाट घरका केटाकेटीहरू खुसी हुन्छन्। मानव जगत एकबाट सृष्टि भई अनेक स्वरूपमा प्रकट भएको भन्ने तथ्य पाउँछन् र सबै खुसी हुन्छन्।
रिपोर्टको बीचमा रिपोर्टर भन्छ– अचेल घरहरू घरजस्तै भएका छन्, परिवारहरू परिवार जस्तै भएका छन्। विद्यालयहरू विद्या आर्जन गर्ने ठाउँ भएका छन् जहाँ बाहिरी जगतको ज्ञान र भित्री ध्यान एकथान आर्जन हुने गरेको छ।
रिपोर्टर फेरि भन्छ– यो युगलाई साँच्चै योग र ध्यानको युग बनाउने जनशक्ति विकास भइरहेको छ; परिवार समाज र संस्थाहरू विकसित भइरहेका छन्; नेपाल साँच्चै नेपाल भएको छ; सुन्दर शान्त र विशाल हृदयले भरिएको नेपाल।
रिपोर्टरले भनेझैं गाउँसहरका सडक, घर र सार्वजनिक स्थलहरू स्वच्छ र हरियालीयुक्त हुन थालेका छन्। रूख रोप्ने ठाउँ नभए पनि प्रत्येक कौसी गमलाका फूलले सुन्दर बनेका छन्। सार्वजनिक स्थलमा केटाकेटीहरू स्वच्छन्द भएर खेलिरहेका छन्।
बुढापाकाहरू वरपिपल र समीका रूखमुनि बसेका छन्। उनीहरू उजाड भएका गाउँबस्तीमा युवाहरू फर्किए, तिनका परिवारले गाउँ भरिभराउ भयो भन्दै गफ गर्दैछन्।
टोल विकास संस्था र युवा समूहले स्थानीय तहसँग मिलेर बनाएका सार्वजनिक भवनहरू बहुउपयोगी भएका छन्। बिहान योगाभ्यास, प्राणायाम र ध्यान हुन्छ। दिउँसो गाउँबस्तीका बुढापाका भेला भएर भजनकीर्तन र सत्संग गर्छन्।
उनीहरू आआफ्ना धर्मसंस्कृति र शास्त्रका बारेमा चर्चा गर्छन्, तिनको व्याख्या गर्छन्।
कोरोना संक्रमणजस्ता महामारीमा आइसोलेसन सेन्टरका रूपमा प्रयोग गर्न, अन्य विपदको समयमा प्रभावितहरूलाई अस्थायी आश्रयस्थल दिन पनि ती भवनहरू उपयोगी भएका छन्। गाउँबस्तीका सामाजिक कर्महरू र मृत्युसंस्कारमा पनि तिनै भवन उपयोग हुन्छन्।
हिमाल, पहाड, तराई, सातवटै प्रदेश र पूर्व–पश्चिम–उत्तर–दक्षिण चारै दिशाका गाउँबस्ती जीवन्त भएका छन्।
रिपोर्टरले आफ्नो आवाजको पृष्ठभूमिमा यिनै दृश्य समेटेको छ।
जनसंख्याको आवश्यकता र भूगोलअनुसार केही अस्पताल स्थानीय तहले व्यवस्थापन गरेका छन्। केही अस्पताल प्रदेश सरकारले र ठूला विशेषज्ञ अस्पताल संघीय सरकारले व्यवस्थापन गरेका छन्।
राज्यका तीनवटै तहका भूमिका र जिम्मेवारी स्पष्ट पारिएका प्रोटोकल र कार्यविधि छन्। जिम्मेवारीमा कतै दोहोरोपन छैन। एउटा तह र निकायले कुनै विशेष परिस्थितिका कारणले आफ्नो जिम्मेवारी एक्लै पूरा गर्न सम्भव नभएमा अन्य तहका सरकार र निकायले सहयोग गर्ने प्रणाली छ।
नागरिकहरू विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध छन्। मानवजीवन र 'जीवनका लागि आवश्यक पर्यावरण' सरकारी र गैरसरकारी संस्था सबैको प्राथमिकतामा छ।
अस्पताल लगायत सार्वजनिक र अत्यावश्यक सेवाका पूर्वाधारहरूमा ज्ञान, सीप र निष्ठाले सम्पन जनशक्ति छ। सबै स्रोतसाधन र उपकरणहरू व्यवस्थित छन्। आवश्यक परेको समयमा राज्यलाई निःशुल्क योगदान गर्ने जनशक्ति तम्तयार छ।
शान्तिसुरक्षाको व्यवस्था राम्रो भएको छ। प्रत्येक नागरिक जिम्मेवार प्रहरी जस्तो देखिन्छ। सबै नागरिक आफ्नो दायित्वप्रति सजग छन्। आफ्नो राज्य, समाज र परिवारप्रतिको दायित्व र अधिकारका बारेमा सबै स्पष्ट छन्। आफ्नो कर्तव्य पालना र अधिकारको उचित उपयोग गर्न तत्पर र जागरूक छन्।
उद्यमशीलताको विकास भएको छ। युवाहरू धमाधम उद्यमी बन्दै छन्। परम्परागत ज्ञान, सीप, संस्कृति र मौलिकता कायम राख्दै तिनलाई आधुनिक प्रविधि र बजारसँग जोडिएको छ।
सहर र गाउँमा ध्यान केन्द्रहरू खुलेका छन्। सनातन र नवीनतम ज्ञान संयोजन गरी विकास गरिएका ध्यानविधि छन्। अध्यात्म र मानवमनोविज्ञान गहिराइमा बुझ्न चाहने व्यक्तिका लागि आवासीय सुविधासहित आध्यात्मिक धामहरू पनि बनेका छन्।
साधनाबाट जीवनको स्रोत र परम चेतनाको अनुभूति गरेका आध्यात्मिक गुरूहरूले वैज्ञानिक पद्धतिबाट ध्यान सिकाउने गरेका छन्। यस्तो ध्यान सिक्न संसारभरिबाट पर्यटकहरू आउँछन्। यसबाट आध्यात्मिक पर्यटन विकास भएको छ। नेपाल साँच्चै ज्ञानभूमि र तपोभूमि बनेको छ।
यहाँका पेसा–व्यवसाय र व्यापारमा सेवाभाव छ। सार्वजनिक र निजी क्षेत्रको सेवा द्रुत र प्रभावकारी छ। निर्माण व्यवसायीहरू निर्धारित समयमा गुणस्तरीय काम गर्न प्रतिबद्ध छन्।
सबै धर्म–सम्प्रदाय र जातजातिका बीचमा सहिष्णुता र सम्मानको भावना छ। साँचो अर्थमा नेपाल सयौं थरी फूलको एउटै माला भएर राष्ट्रिय एकताको डोरीमा बलियोसँग उनिएको छ।
यसरी नेपाल चौतर्फी राम्रो हुनमा सरकार र नागरिकको कुन कदम प्रमुख छ भन्ने प्रश्नमा देशका प्रधानमन्त्री भन्दै हुनुहुन्थ्यो, 'हामीले हाम्रा पुर्खा र गौतम बुद्धले दिएको ध्यानको ज्ञान अभियानका रूपमा उपयोग गरेर योग–ध्यानको जगमा मुलुकको समग्र विकास अघि बढाउने निधो गर्यौं। यसमा नागरिकहरूको स्वस्फूर्त साथ छ। विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरू परिमार्जन गर्यौं। सरकारका नीतिहरूमा योग–ध्यानमा आधारित दक्ष र इमानदार जनशक्ति विकास प्राथमिकतामा छ।'
प्रधानमन्त्रीको मन्तव्यको पृष्ठभूमिमा मन्तव्य पुष्टि हुने दृश्यहरू देखिन्छन्।
प्रधानमन्त्री भन्दै हुनुहुन्छ, 'सरकारी, निजी र गैरसरकारी सबै क्षेत्रका सबै संस्थाहरूले ध्यानबाट आफ्नो दिनको कार्य आरम्भ गर्छन्। राज्य र नागरिकका प्रत्येक तहबाट मुलुकको चौतर्फी विकासका लागि रचनात्मक सल्लाह, सुझाव र मोडलहरू प्रस्तुत हुने गरेका छन्। आफूले गर्न सक्ने योगदानका बारे पनि सबै क्षेत्रबाट प्रतिबद्धता आउने गरेको छ। नेपाल अब विश्वसामु योगराष्ट्रका रूपमा चिनिँदै छ। विश्वले पवित्र नेपाली भूमिबाट योग–ध्यान र शान्तिको सन्देश पाउँनेछ।'
प्रधानमन्त्रीको मन्तव्यपछि रिपोर्ट सकियो।
(लेखक निरौला नेपाल सरकारका सहसचिव हुन्। हाल रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी छिन्। उनी योग प्रशिक्षक पनि हुन्।)